Breaking

निल्नु न ओकल्नुमा सत्ता गठबन्धन, चौतर्फी विरोधका बावजूद के गर्लान् देउवा ?


काठमाडौँ – चुनावी मिति नजिकिदै गर्दा सत्ता गठबन्धनभित्र असन्तुष्टि बढ्दो छ । असन्तुष्टि बढ्दै जाँदा सत्तारूढ दलकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने अवस्था सिर्जना हुन थालेको छ । केन्द्रीय स्तरमा स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेर सिट बाँडफाँडको मापदण्डबारे गृहकार्य गरिरहेको भएपनि त्यसले सुखद् नतिजा दिन सकेको छैन ।

स्थानीय तहको निर्वाचमा तालमेल सहित जाने सत्ता घटक दलहरुको निर्णय पेचिलो बन्दै गएको छ । कतिपय स्थानमा देखिएको विमेल फाईदा उठाउने तयारीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले रहेको छ ।

सबैभन्दा चासो र चर्चाको केन्द्र बनेको चितवनको भरतपुरमा केन्द्रको तयारीविरुद्ध ५० जना कांग्रेसका पूर्ववडाध्यक्ष, पार्टीका पूर्ववडा सभापतिले राजीनामा नै दिएका छन् । उनीहरुले स्वतन्त्र उम्मेदवारी दिने उद्घोष गरेका छन् । यस्तै, वीरगन्ज महानगरपालिमा कांग्रेसले चुनावी तालमेल नगर्ने निर्णय गरेको छ ।

पर्सा जिल्ला कमिटीले वीरगंजसहित पर्साको अन्य पालिकामा समेत कांग्रेस एक्लै चुनाव गर्ने उद्घोष गरेको छ । जसले पर्साको पालिकामा सत्तारूढ गठबन्धनभित्रै प्रतिस्पर्धा हुने संकेत देखिएको छ भने कास्कीमा पनि स्थानीय नेता कार्यकर्ता गठबन्धनको विपक्षमा देखिएका छन् ।

यसरी कांग्रेसभित्र देशैभर विद्रोह बढ्दै जाँदा तनहुमा त एमालेले कांग्रेसका पूर्वनेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गर्ने भएको छ । अहिले गठबन्धनबाट मन्त्री रहेका तत्कालिन नेकपाका नेता कृष्णकुमार श्रेष्ठ (किसान)लाई जिताउन भूमिका खेलेको आरोपमा पाँच बर्ष अघि पार्टीबाट निस्कान गरिएका जोशीले त्यसको बदला लिने तयारी थालेका छन् ।

यसरी गठबन्धनमा देखिएको चौतर्फी संकटले प्रमुख प्रतिपक्षी एमाले भने हौसिएको छ । यता देउवाले भने गठबन्धन भन्दा बाहिर जान सिद्धान्तले नदिने बताँउदै आएका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनकै दलहरुबीचको भेटघाटलाई बढाएका छन् ।

विहान देउवासंग भेटेका उनले दिउसो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्षद्वय उपेन्द्र यादव र डा.वावुराम भट्टराईसंग भेटवार्ता गरेका छन् । गठबन्धनको सम्बन्धमा विभिन्न अड्कलवाजी भइरहेका बेला गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र गठबन्धनमा आवद्ध अर्को दल नेकपा एकीकृत समाजवादीको अनुपस्थितिमा दुई दलबीच छलफल भएको हो ।

जसको अर्थ कांग्रेसविनाको गठबन्धन हुनसक्ने संकेतकाबीच कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको निर्वाचन तयारी तथा अनुगमन समिति पनि जोडतोडका साथ लागि परेको छ । सवै तहमा तालमेल हुन नसक्ने पक्का भईसकेपछि सुरुमा महानगरपालिका र उपमहानगरपालिकाको टुंगो लगाउने तर्फ समिति लागेको छ ।

यहिबीचमा कांग्रेसले भने मित्रवत् प्रतिस्पर्धाको अर्को नयाँ अश्त्र फ्याकेको छ । चुनावी तालमेलका विषयमा सबैभन्दा बढि समस्या कांग्रेसमा देखिएको छ । विधानत उम्मेदवारको छनौटका लागि संसदीय समिति बनाउनुपर्नेमा त्यो समेत बनाउन नसकेर केन्द्रीय कार्य सम्पादन समितिबाटै उम्मेदवार तय गर्ने बाटोमा कांग्रेस देखिएको हो ।

त्यस्तै हैसियत भन्दा धेरै भाग मागेको भनेर माओवादीले तालमेलको काउसो एकीकृत समाजवादी भएको संकेत गरेको छ । यसरी असन्तुष्टि बढ्दै जाँदा एक दलका नेताले अर्को दलका नेतालाई स्वीकार गर्न सकेका छैनन् । जसले गठबन्धन प्रत्युपादक बन्ने देखिएपछि तल्लो तहमा अघोषित रुपमा निर्णय स्वतन्त्रता पनि दिने र गठबन्धन गरेजस्तो पनि गर्ने दोहोरो रणनितिमा देउवा लाग्न विश्लेषण सुरु भएको छ ।