Breaking

कलाकारहरु आफ्नो प्रतिष्ठा नै भूलेर दलको फेरो समाउँदै, संगितलाई चुनावी कित्ताकाट बनाउँदै


वैशाख ३० को स्थानीय निर्वाचनको सरगर्मी बढेसँगै यतिखेर राजनीतिक दलहरु आफ्नो पक्षमा माहोल बनाउनका लागि तछाड–मछाड गरिरहेका छन् । नेताहरुको हेलिकप्टरमा देशदौडाहा पनि दिनप्रतिदिन बढ्दो नै छ ।

तर, दलहरु खुल्ला आमसभामा कार्यकर्ता भेला गरेर मात्र आफ्नो प्रभाव छरिरहेका छैनन्,पछिल्लो समय राष्ट्रियस्तरका चिरपरिचित कलाकारहरु प्रयोग गरेर नै आ–आफ्नो पार्टीमा लबिङ गर्न र भोट माग्न गीत बनाई रहेका छन् ।

अहिलेको प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले त आफ्नो पक्षमा उत्कृष्ट चुनावी गीत बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँको पुरस्कार राशी नै राखेको छ ।
हामी राष्ट्रका गहना हौं भन्ने कलाकारहरु नै कुनै एक पार्टीका लागि भोट माग्न हिडिरहेका छन् । फलानो फलानो पार्टीमा भोट हाल्न भन्दै अपील गर्छन् । कलाकारलाई राष्ट्रको गहना भनेर इंगित गरे पनि कलाकार भने कुनै एक पार्टीका मात्र भएका छन् ।

गत चुनावमा पनि गायककार बद्री पंगेनीको स्वरमा सजिएको मै पनि एमाले सही पनि एमाले नामक गीत अत्याधिक लोकप्रिय बन्यो । गीत लोकप्रिय मात्रै बनेन एमालेलाई मत बटुल्न ब्रह्मास्त्र नै बनेको एमालेका नेताहरु नै बताउँछन् । हालको अवस्थामा पनि विभिन्न कलाकारका दर्जनौ गीतहरु आई नै रहेका छन् ।

आखिर किन कलाकारहरु यसरी पार्टीका गीत संगीत गाउँछन् र यसको प्रभाव कस्तो पर्छ भन्ने आम कौतुहलता पनि हुन सक्छ । यतिखेर पार्टीका लविङमा बनेका गीतहरु सामाजिक सञ्जालमा चर्चित भईरहेको छ । के साँचिकै यस्ता गीतहरुले जनमत बटुल्न सहयोग गर्छ ?

यस्ता गीतहरुले समाजमा सहजै प्रभाव पार्ने र संगीत प्रति मोह भएका व्यत्तिलाई आकर्षित गर्न सहज हुने भएकै कारणले राजनीतिक दलका शीर्ष नेतृत्वहरु पनि गीत बनाउनमा व्यस्त छन् । नेपाली कांग्रेसका केन्द्रीय स्तरका नेता गुरुराज घिमिरे र महामन्त्री विश्वप्रकाश शर्मा पनि अहिले गीत रेकर्ड गर्नमा व्यस्त देखिन्छन् । यसरी विश्वप्रकाशको आफ्नै शब्द र आफै खटिएर बनाएको गीतमा सुमित खड्का, राधिका हमाल कृष्णमान डंगोल र शशी थापाले स्वर भरेका छन् ।

पछिल्लो समय चुनावमा आफ्नो पक्षमा जनता तान्नका लागि समाजिक सञ्जाल टिकटक, फेसबुक र युट्युव लगायतमा यस्ता गीतहरु प्रशस्तै भेट्न सकिन्छ । स्थानीय स्तरमा यी यस्ता गीतहरु प्रयोग गरेर कार्यकर्ताहरु घरघरमा नै पुग्ने गरेका छन् । वास्तवमा यस्ता गीतहरुले मतदाताहरुमा कति प्रभाव पार्छ भन्ने यकिन तथ्य नभए पनि ,यसले दलहरुलाई भोट माग्ने राम्रो माध्यम बनेको छ ।

कलाकारहरु भोली चुनावी आमसभामा गएर यीनै गीत प्रस्तुत गरेर पनि प्रत्यक्ष रुपमा जनतासँग माहोल बनाउने काम गर्छन् । त्यसो त एमाले अध्यक्ष ओली करिष्मा मानन्धर, राजेन्द्र लिङ्देन रेखा थापालगायतका कलाकार बोकेर हिडिनै रहेका छन् । कालकारहरु पनि कतै न कतै यस्ता काम बाट नै भोली आफ्ना लागि पनि राजनीतिमा आउने बाटो खोजिरहेका छन् ।