Breaking

विप्लवको सक्रियता निर्वाचन भाड्न कि सहभागी हुन ?


काठमाडौँ –निर्वाचन नजिकिँदै जाँदा सत्ताधारी गठवन्धन र विप्लब नेतृत्वका नेकपा माओवादीको दुरी साँघुरिन थालेको छ । निर्वाचन लक्षित सहकार्यका सन्दर्भमा यी पक्ष बीच छलफल सुरु भएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विप्लव समूहका नेताहरुसँग भेट गरेका छन् ।

आइतबार नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको निजि निवास कोटेश्वरमा भेटको तारतम्य मिलाइएको थियो । भेटका क्रममा माओवादी केन्द्र र समाजवादीका अध्यक्ष नै सहभागि भए पनि विप्लव समूहबाट धर्मेन्द्र वास्तोलाको नेतृत्वमा नेताहरु पुगेका थिए ।

भेटको क्रममा विशेष गरी आगामी निर्वाचनमा सहकार्यका सम्बन्धमा छलफल भएको छ । नेत्रविक्रम चन्द विप्लबले आगामी स्थानीय तहको निर्वाचनमा आफूहरु पनि सहभागि हुने बताएका छन् । तर उनको त्यो प्रस्ताव पार्टीभित्र अल्पमतमा छ ।

यस्तो अवस्थामा सत्ता घटक दलहरुसंग विप्लव माओवादीको सहकार्य कति सम्भव छ ? यी दुइ पक्षबीच तालमेल हुँदा कस्लाई फाइदा पुग्ला ? विप्लव समूह प्रतिवन्धीत अवस्थामा जति लोकप्रिय थियो, अहिले त्यस्तो अवस्था छैन । उसको पलाउँदै गरेको जनविश्वास पनि खुला राजनीतिमा आएको एक वर्षमै धुमिल भइसकेको छ ।

अब पनि निर्वाचनमा भाग नलिए कतै मोहान बैद्य नेतृत्वको पार्टीको हालतमा पुग्ने त हैन भन्ने डर विप्लवलाई भएको हुनुपर्दछ । विप्लव समूहको राजनीतिक प्रभाव रुकुम रोल्पामा आंशिक रहे पनि अन्यत्र उमेदवार भेट्न पनि मुस्कील देखिन्छ । तसर्थ विप्लब समूहलाई सत्ता घटक छहारी बन्न सक्छ भने गठवन्धनलाई पनि राहत हुन सक्छ ।

तर सहकार्यका लागि छलफलहरु निचोडमा पुगिसकेको छैन । सहकार्यका लागि कुनै न कुनै सीमा रेखा राख्न ओली नेतृत्वको सरकारसंग वार्ता गरी सार्वजनिक हुँदाको ३ बुँदे सहमति कार्यान्वयन गरिनु पर्ने माग विप्लब समूले तेस्र्याएको छ ।

जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ निर्वाचन अगावै हुनु पर्ने विप्लब समूहको निष्कर्ष छ । विप्लब समूहले समान रुपमा नेकपा एमालेसंग पनि भेट र छलफल चलाई नै रहेको छ । तसर्थ यी पक्षसंग छलफलका आधार जो संग सहकार्य गर्दा लाभदायक हुन्छ उसैसंग सहकार्य गर्ने दाउमा विप्लब समूह देखिएको छ ।