Breaking

गठबन्धनमा विवाद, चितवनमा ५० जनाको सामूहिक राजीनामा (भिडियोसहित)


काठमाडौँ — सत्ता गठबन्धनका दलहरुले केन्द्रबाटै चुनावी तालमेलको सहमति गरेपछि स्थानीय तहका नेता–कार्यकर्ता विच्किएका छन् । यसले गठबन्धनबीच तालमेलको योजना थप संकटमा परेको छ ।

चैत २८ मा भएको सत्ता गठबन्धनको सहमति अनुसार महानगर र उपमहानगरको सिट बाँडफाँड र उम्मेद्धारी केन्द्रबाटै तय हुने निर्णय गरियो । तर महानगरपालिकामै कांग्रेस नेताहरु गठबन्धनको विरोधमा देखिएका छन् । भरतपुर महानगर यसपटक पनि माओवादीलाई दिन प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएपछि चितवन काँग्रेसका ५० नेता कार्यकर्ताले स्वतन्त्र अभियानका लागि भन्दै शनिबार सामूहिक राजीनामा दिएका छन् । गठबन्धनको ठूलो दल नेपाली कांग्रेस नै तालमेलको विषयले देशभर पक्ष÷विपक्षमा विभाजित बनेको छ । तालमेल गर्ने समझदारी बने पनि स्थानीय तहमा अझैपनि गठबन्धन गर्न नहुने र गठबन्धन गर्दा पार्टीलाई क्षति हुने मत बलियो रहेपछि नेतृत्वसमेत दबाबमा परेको छ ।

महानगर र उपमहानगरभन्दा तलका तहमा स्थानीयस्तरमै अधिकार दिने सहमति भएको हो । तर सबै तहमा केन्द्रबाटै निर्णय लाद्ने गरि नेतृत्व अघि बढेपछि चुनावी तालमेलमा थप संकट पैदा भएको छ । गठबन्धनका प्रमुख तीन दल नै तीनतिर छन् । निर्वाचन आयोगको तालिका अनुसार मनोनयनका लागि अब नौ दिनमात्रै बाँकी छ । यस्तो बेला उम्मेद्वारको टुंगो लगाएर मत माग्न हिड्नुपर्ने नेतृत्व भागबण्डा मिलाउनै सकसमा छ । यसले तल्लो तहमा तालमेलको विपक्षमा रहेकाहरु झनै विच्किएका छन् । नेपाली काँग्रेस संखुवासभाले तालमेल नगर्ने निर्णय गर्दा रोल्पामा माओवादी केन्द्रले काँग्रेसलाई नबोक्ने भन्दै एक्लै चुनावमा जाने निधो गरेको छ ।

तालमेलका विषयमा कांग्रेस–माओवादी मात्रै होइन र जसपा पनि विवादित छ । जसपाले बाँकेमा कांग्रेससँग गठबन्धन नगर्ने भनेको छ भने रुपन्देहीका केही पालिकामा पनि गठबन्धन नगर्ने तयारी गरेको छ । एकीकृत समाजवादीले मतभारभन्दा धेरै भाग खोजेपछि काँग्रेस र माओवादी चिड्ढीएका छन् । शुक्रबारमात्रै प्रचण्डले एमालेकै धंगधंगी माधवले देखाएको भन्दै असन्तुष्टि जाहेर गरेका थिए ।

स्थानीयस्तरबाटै गठबन्धन गर्दै आउने र विवादित भएका स्थानमा केन्द्रले सल्टाउने काम गरेको भए तालमेल सहज हुनसक्थ्यो । तर केन्द्रबाटै लादेको निर्णयलाई तल्लो तहले अस्वीकार गरेपछि गठबन्धनमा खटपट पैदा भएको हो । यसले एमालेलाई फाइदा पुग्ने विश्लेषणसमेत गरिएको छ । तर पनि अन्तिमसम्म गठबन्धनका दलबीच साझा उम्मेद्वार बनाउन कोशिस गर्ने नभए गठबन्धनबीच नै प्रतिस्पर्धा चलाउने तर कुनैपनि हालतमा एमालेसँग तालमेल नगर्ने तयारी गठबन्धनका दलहरुले गरेका छन् ।