Breaking

‘युटुवे’ बोकेर राजा फर्काउने मिशनमा लिङ्देन, चुनावमा हालत खराब, नमच्चिने पीङको सय झट्का


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीे महाधिवेशनमार्फत निर्वाचित भए लगत्तै ६ महिनभित्र राजसंस्था पुनःस्थापनामा सहमति जुटाउने घोषणा गरेका थिए । तर राजसंस्था पुनःस्थापना त परकै कुरा लिङ्देनलाई चुनावमै अस्तित्व जोगाउन मूस्किल पर्ने देखिन्छ । राप्रपाजस्तो पुरानो पार्टीका नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन यतिबेला सर्वत्र चर्चामा छन् । ओली, देउवा र प्रचण्डमाथि लिङ्देनले गर्ने कडा प्रहारकै कारण उनको पछि लाग्नेको ताँती पनि उत्तिकै छ । अध्यक्ष भएको केही दिनमै नेतालाई चोर भन्छन भनेपछि त उनको हाईहाई नै भयो । अब लिङ्देनको एउटै मिशन छ, इतिहासको कालखण्डमा मिल्काइएको एउटा राजा फर्काउने । तर उनको यो मिशन ‘नमच्चिने पीङको सय झट्का’ जस्तै छ, र उनका लागि ‘शिरमा टोपी छैन, खुट्टामा खोल’ जस्तो ।

राजसंस्था फर्काउनका लागि जीवनको स्वर्णिम समय खर्चिएका कमल थापा उत्तरार्धमा आएर गणतन्त्रवादी बनेका छन् । ‘हराएको गाई सूर्यलाई दान’ भन्ने नेपाली उखान जस्तै थापाको राजनीतिसमेत एमालेको सूर्यमा मिसिएको छ । भलै उनी एमाले प्रवेश गर्न बाँकी छ । थापा बाहिरिएपछि लिङ्देनका राजा फर्काउने सहयात्री भने ज्ञानेन्द्र शाही र ज्वाला संग्रौला जस्ता केही अभियन्ता बनेका छन् । जसलाई नेपाली समाजले ‘टपरटुइँया फेसबुके’ भनेर चिन्ने गरेको छ । यस्ता फेसबुके र युटुवे अभियन्तालाई पार्टी प्रवेशको लहर नै चलाएका लिङ्देनले के राजा फर्काउलान् त ?गणतन्त्रवादीहरु उनका मजाक उडाउँछन् ।

राप्रपाका एक्ला सांसद लिङ्देन राजा फर्काउने मिशनमा पनि एक्ला छन् । राजसंस्थाको औचित्य नभएको भन्दै सहकर्मीहरु नै साथबाट छुट्टिएका बेला बचेकुचेको अस्तित्व पनि यही चुनावमा मेटिने संकटमा छ । विगतमा लिङ्देनले एमालेको साथ पाएर प्रतिनिधिसभाको चुनाव जितेका थिए । गृहजिल्ला झापामा एमालेसँगै गरेको तालमेलबाट भाइलाई पालिका मेयरसमेत जिताएका थिए । अहिले उनका पूर्वसहकर्मी कमल थापाले एमालेको चिन्हबाट चुनाव लड्दै छन् । थापानै एमालेसँग तालमेलमा सामेल भएपछि लिङ्देन विगतजस्तो मिल्ने सम्भावना रहनेछैन । अर्काेतिर पाँच दलीय गठबन्धन छ । फलतः लिङ्देन आफैलाई चुनाव जित्न चुनौती छ ।

यसका अघि राजा फर्काउने उनको मिशन कहाँ पुग्छ स्वयम् उनको आँकलन बाहिर छ । तर पनि ओली, देउवा र प्रचण्डसँग भिड्ने ताकत लिङ्देनसँग मात्रै रहेको बताउनेहरुको पनि कमि छैन । विगतदेखि नै राप्रपाको मुल एजेन्डा राजसंस्था पुनःस्थापनाको हो । तर कमल थापा र प्रकाशचन्द्र लोहनी जस्ता पूर्वपञ्चहरु धेरैपटक गणतन्त्रवादी सरकारमा सामेल भए । सरकारमा रहँदा राजसंस्था फर्काउने नामसमेत लिएनन् । अहिले थापा पूर्वराजामाथि नै आरोप लगाएर राजसंस्थाको लाइनबाट बाहिरिएका छन् ।नयाँ पञ्जका रुपमा उदाएका लिङ्देन तेज गतिमा राजा फर्काउने कुरा गरिरहेका छन् ।र उनका कुरा, ‘सिपालीले सीप लायो मुखुण्डीले मुख लायो’ भन्दा बढी देखिएका छैनन् ।