Breaking

मेयर र उपमेयर छान्न गर्न पोखरामा एमालेको मतदान


काठमाडौँ — पार्टी अध्यक्ष केपी ओली पक्षभित्रका पनि दुई धारका नेताका कारण नेकपा एमाले कास्कीलाई पोखरा महानगरपालिकाको नगरप्रमुख छनोटमा समस्या भएको छ ।

मेयर र उपमेयरमा आकांक्षी धेरै हुनु र ती आकांक्षीहरू पनि दुई धारका भएका कारण पार्टीभित्रको किचलोको मारमा एमाले परेको छ । किचलोकैबीच उम्मेदवार भने छनोट गर्नुपर्ने भएपछि शुक्रवारका लागि एमाले कास्कीले पार्टीभित्रै निर्वाचन गर्दै छ ।

एमाले महानगर कमिटीले नगर प्रमुख र उपप्रमुख पदको सिफारिसका लागि निर्वाचन कमिटी गठन गरी निर्वाचन कार्य तालिका नै सार्वजनिक गरेर पार्टीको तर्फबाट उम्मेदवारको टुङ्गो लगाउन लागेको हो ।

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सङ्गठन विभाग प्रमुख खगराज अधिकारीका दुई पक्षबीचको टकराब र प्रतिस्पर्धाका कारण उम्मेदवारका आकाङ्क्षीहरूले आफ्नो हठ नछाडेपछि निर्वाचनबाट उम्मेदवार टुङ्गो लगाउनुपर्ने अवस्था उत्पन्न भएको हो ।

एमालेले अन्तरपार्टी निर्देशन जारी गरेर वैशाख ३० गतेभित्रै उम्मेदवार टुङ्ग्याउन निर्देशन दिए पनि गण्डकीको एक मात्र महानगरपालिका तथा प्रदेशको राजधानी समेत रहेको पोखरामा एमालेभित्रै प्रतिस्पर्धा भएको हो ।

एमालेको जिल्ला अधिवेशनमा गुरुङ पक्षका मनबहादुर गुरुङ चयन भए भने महानगरमा अधिकारी र गुरुङ दुवैको मध्य भागमा रहेका दिलीप न्यौपाने चयन भए । कास्कीका अन्य स्थानीय तहको अधिवेशन सहज तरिकाले समयमै सकिएको भए पनि गुरुङ र अधिकारी पक्षको प्रतिस्पर्धाका कारण पोखरा महानगरपालिकाको अधिवेशन ढिला गरी पूरा भएको थियो ।

पार्टीभित्र आकाङ्क्षा व्यक्त गरेकाहरूले शुक्रबर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराउनुपर्नेछ । निर्वाचनका लागि बिहीबार साँझ मतदाताको नामावली प्रकाशन गरिएको छ । मतदाता नामावली उपर दाबी विरोध र सुधारका लागि बिहान ८ देखि ८ः१५ बजेसम्मको समय दिइएको छ ।

मतदाता नामावली उपर परेको दाबी विरोध र सुधारका लागि सूचना प्रकाशन शुक्रवार बिहान ८ः२० बजेसम्म, दाबी विरोध उपर छानबिन र निर्णय साढे ८ बजे तथा अन्तिम मतदाता नामावली प्रकाशन बिहान ८ः३० बजेलाई तोकिएको छ ।

निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारको दरखास्त फारम वितरण ९ देखि ९ः१४ सम्म, उम्मेदवारको दरखास्त फाराम दर्ता ९ः१५ देखि १० बजेसम्म, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन शुक्रवार बिहान १० बजे, उम्मेदवारको विरोधमा उजुरी दिने बिहान १०ः१५ देखि १०ः३० सम्म र उजुरी उपर छानबिन र निर्णय बिहान १०ः४५ बजेलाई तोकिएको छ ।

त्यस्तै उम्मेदवारको नामावली पुन प्रकाशन बिहान १०ः४५ बजे, उम्मेदवारको नाम फिर्ता बिहान १०ः५० देखि ११ः१५ सम्म तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रवारै बिहान ११ः१५ बजेसम्म र मतदान दिउसो १२ बजेदेखि १ बजेसम्मका लागि तय गरिएको निर्वाचन कमिटीले कार्य तालिका सार्वजनिक गरेको छ ।

मतदानपछि मतगणना र परिणाम प्राप्त हुने बित्तिकै मत परिणाम घोषणा गरिने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बताए ।