समाचार

मधेसमा आज जुडशीतल मनाइँदै, सार्वजनिक बिदा


काठमाडौँ — मधेस प्रदेशसहित मिथिलाञ्चल क्षेत्रमा आज हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै छ । प्रत्येक वर्षको वैशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा ठूलाबडाले आफुभन्दा सानाको शिर (टाउको) मा जल थपथपाएर आर्शीवाद दिने गरिन्छ ।

बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल रालेर आर्शीवाद दिँदै पर्व मनाउन आज पनि सुरु भइसकेको छ । यस पर्वमा वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठूलाबडा एवम् जेष्ठ सदस्यले आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।

आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ । सूर्यको तापबाट आकुलव्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो ।

नयाँ वर्षमा जल सिँचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास छ । आजैका दिन केही स्थानमा हिलोपानी पनि खेल्ने गरिएको छ । विशेष परिकार बनाएर खाने चलन पनि यस पर्वमा छ । जुडशीतलको अवसरमा मधेस प्रदेश भर आज सार्वजनिक बिदा दिइएको छ ।