समाचार

माथिल्लो मनाङमा पहिलो पटक एटीएम सेवा सञ्चालन


काठमाडौँ — नेपालको सबैभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रने मनाङको माथिल्लो क्षेत्रमा एटीएम सेवा सञ्चालनमा आएको छ ।

नयाँ वर्ष २०७९ को सुरुआतसँगै ग्लोबल आइएमई बैंक मनाङ शाखाले पहिलोपटक एटीएम सेवा सञ्चालनमा ल्याएको छ । एटीएम सेवा सञ्चालनमा आएपछि मनाङमा आउने पर्यटकलाई सहज भएको छ ।

यहाँ आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले एटिएम सेवा सञ्चालनमा ल्याइएको ग्लोबल आइएमई बैंक मनाङ शाखाका प्रबन्धक सुवासकान्त जोशीले जानकारी दिए ।

‘मनाङ आउने पर्यटकलाई खल्तीमा पैसा बोक्नुपर्ने समस्या हटाउने उद्देश्यले नै एटीएम सेवा सञ्चालनमा ल्याइएको हो’, प्रबन्धक जोशीले भने। यहाँ एटीएम सेवा सञ्चालनमा आएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् । पर्यटकीय क्षेत्र भए पनि माथिल्लो मनाङमा हालसम्म एटीएम सेवा सञ्चालन भएको थिएन ।

माथिल्लो मनाङ पुगेका पर्यटकलाई खर्चको अभाव भएपछि फर्केर सदरमुकाम झर्नुपर्ने समस्या टरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । ‘मनाङको मुख्य आयस्रोत नै पर्यटन हो । विविध समस्या हटेपछि अहिले अन्नपूर्ण सर्किटमा आउने पर्यटक बढ्दै गएको छ । एटीएम सेवा सञ्चालनले पर्यटकलाई सहज बनाएको छ’, उनले भने ।

एटीएम सेवा सञ्चालनले मनाङ आउने पर्यटकलाई सहज भएको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताए । ‘एटिएम सेवाले पैसा बोक्नुपर्ने समस्या हट्यो । पैसा बोकेर मनाङ आउँदा हराउने, चोरी हुने, खर्चको अभावमा यहाँ बस्ने समय छोट्याउनुपर्ने समस्या हटेपछि पर्यटकलाई धेरै सहज हुनेछ’, उनले भने ।

लामो समय मनाङ बस्ने योजनासहित आएका पर्यटकलाई पैसाको अभावमा फर्कनुपर्ने बाध्यता हटेको छ । एटीएम सेवाले पैसाको भारी बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यसअघि जिल्लामा एउटा मात्रै एटीएम सेवा सञ्चालनमा छ । माथिल्लो मनाङमा भने यो एटीएम सेवा पहिलो पटक हो ।

सदरमुकामभन्दा धेरै पर्यटक रहने क्षेत्र माथिल्लो मनाङमा एटीएम सेवाको आवश्यकता खट्किएको थियो । जिल्लाभर आठवटा बैंक रहेता पनि सदरमुकाममा प्रभु बैंकले एटीएम सेवा सञ्चालनमा ल्याएको छ । अब जिल्लामा दुई बैंकले दुई स्थानमा एटिएम सेवा सञ्चालन गरे पनि अन्य बैंकले हालसम्म एटिएम सेवा सञ्चालन गर्न सकेका छैनन् ।