समाचार

ट्रकको ठक्करबाट घाइते प्रहरी हवल्दारको मृत्यु


काठमाडौँ — सुनसरीको दुहबीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरीको मृत्यु भएको छ ।

बुधबार अपरान्ह भएको दुर्घटनामा परेर घाइते प्रहरी हवल्दार शिवनन्द मण्डलको आज बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कोसी लोकमार्गअन्तर्गत दुहवी नगरपालिका–८ मा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १ क ८८१७ नम्बरको ट्रकले को ३६ प ५४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

ट्रकले प्रहरी सहायक निरीक्षक सनम राजवंशीले चलाएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार प्रहरी हवल्दार शिवनन्द मण्डलको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविन राईले बताए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका हवल्दार मण्डलको उपचारका क्रममा विराटनगरको आर्या न्यूरो अस्पतालमा बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । मण्डल सिआरभी पोस्ट् सोनापुरमा कार्यरत थिए ।