देश

पोखरामा एमाले हराउन कांग्रेसले मेयर पाउनुपर्छ: कास्कीका नेता


काठमाडौँ — पोखरामा एमालेलाई हराउन गठबन्धनबाट कांग्रेसले मेयरको टिकट पाउनुपर्ने जिल्ला नेताहरूले सभापति शेरबहादुर देउवासमक्ष माग राखेका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई बुधबार बालुवाटारमा भेटेर कांग्रेसका जिल्ला नेताहरूले उक्त माग राखेका हुन् । मेयर कांग्रेसले पाउनुपर्ने भन्दै कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, पदाधिकारीसहित पूर्वमन्त्री यज्ञबहादुर थापा, महानेगर मेयरका आकांक्षीसहितको टोली मंगलबार काठमाडौं गएका थिए। बालुवाटारमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाणसहितका नेताहरूलाई पोखराको वस्तुस्थिति अवगत गराएको पूर्वमन्त्री थापाले जानकारी दिए ।

‘कास्कीको वस्तुस्थिति तथ्य र तथ्याङ्कसहित हामीले सभापतिज्युलाई अवगत गराएका छौं,’ उनले भने, ‘पोखरामा एमालेलाई हराउन मेयरमा कांग्रेसको उम्मेदवार चाहिन्छ भनेर स्पष्ट रूपमा भनेका छौं । प्रधानमन्त्री देउवासँगको भेटमा कांग्रेसको पोखरा महानगरमा मात्र ७० हजार मत रहेको जानकारी गराएका थिए । गत निर्वाचनमा आँकाडाअनुसार माओवादीको ८ हजार र नेकपा एकीकृत समाजवादी पार्टीको त्योभन्दा कम मत रहेको कांग्रेसको आकलन छ । मेयर कांग्रेसले मागे पनि गठबन्धन भत्काउने मनसाय आफूहरूको नरहेको नेता थापाले बताए ।