Breaking

ओलीका कट्टर समर्थकको विचल्ली, मेयर नपाएपछि रुँदैरुँदै पार्टी छोडे


काठमाडौँ — स्थानीय तहको निर्वाचन आउन अब करिब एक महिना बाँकी छ । उम्मेद्वारी छनोटको अन्तिम कसरतमा राजनीतिक नेतृत्व छ । ठिक यसैबेला स्थानीय तहमा रुवाबासी चलिरहेको छ । मेयरमा टिकट नपाएपछि झापाका एमाले नेताले रुँदैरुँदै पार्टी छोडेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कट्टर समर्थक भनेर चिनिन्थ्ये डिल्लीराम घिमिरे ।ओलीको अन्धभक्त जस्तै बनेर ३१ बर्षदेखि एमालेमा रहेर राजनीतिक गरेका उनी पार्टी विभाजन हुँदा माधव नेपालतिर गएनन् । तर तीनदशक पार्टीमा बिताएर ६५ बर्षको उमेरमा मंगलबार रुँदैरुँदै पार्टीछोडेको घोषणा गरे ।

उनको यो रुवाईउमेरहदका कारणले पार्टी राजनीतिबाट अवकाश लिएर वा नेतृत्व पुस्तान्तरण गरेर पार्टी छोड्दाको होइन,टिकट नपाएपछिको भने पक्कै हो ।खासमा भएको के हो भने, उनी झापाको मेचीनगर नगरपालिकाको मेयर बन्न चाहन्थ्ये । मेयर बन्ने चरम आकांक्षा पालेका घिमिरेलाई पार्टीले उम्मेद्वार सिफारिसमै नपारेपछि जिल्ला कमिटी सदस्यसमेत त्यागेर उनले पार्टी छाडेका घोषणा गरेका हुन् । सहकर्मीहरुले पटकपटक आफूमाथि अन्याय गर्दै अवसरबाट वञ्चित गर्ने र घेराबन्दीमा पार्ने काम गरेको आरोप लगाएका उनले पत्रकार सम्मेलनमै आँसु खसालेर भने, ‘मलाई पार्टीका नेताहरुले रुहाउँदै रुहाउँदै निष्काशन गरे, म आफैं निस्किएको हैन, निस्किन बाध्य पारेका हुन ।’

मेची नगरमा एमालेबाट घिमिरेसहित ७ सातजना मेयरको प्रतिस्पर्धामा थिए । त्यसमा प्रदेश सांसदसमेत रहेका गोपाल बुढाथोकीलाई एकाएक मेयर बन्ने रहर पलाएपछि एमालेको स्थानीय नेतृत्वले अरुलाई पाखा लगाएर प्रदेश सांसदलाई च्यापेकोप्रतिअरुले चित्त दुखाएका छन् । एकपटक प्रदेश सांसद भएको व्यक्ति स्थानीय नेताको अधिकार खोस्ने गरि मेयरमा दाबी गरेको अन्य आकांक्षीको आरोप छ ।तर उम्मेद्वार सिफारिसमा जित्न सक्ने व्यक्ति छानिएको एमाले नेताहरु बताउँछन् ।सात जनामध्ये बलियोलाई उम्मेद्वार बनाउन भोटिङ गरिएको थियो । ५७६ मतमध्ये सांसद बुढाथोकीले ३७८ मत ल्याउँदा घिमिरेले १२ मत मात्रै ल्याएको भन्दै सिफारिसमा नपरेको एमाले नेता विष्णु प्रसाईँले बताएका छन् ।

स्थानीय तहको निर्वाचन आउन अबमात्रै एक महिना बाँकी छ । शहर बजारदेखि गाउँ टोलसम्म मेयरका आकांक्षीहरुको रुवाबासी चलिरहेको छ ।नेतृत्वकै वरिपरि घुमेर, साम, दाम, दण्डभेद् प्रयोग गरेर जसरी पनि मेयर प्राप्ति गर्ने अन्तिम लक्ष्य नेताहरुले बनाएका छन् । यसका लागि पार्टी छोड्ने मात्रै होइन, पार्टी फेरबदलनै चलिरहेको छ ।केन्द्रको मन्त्री बनेका लालबाबु पण्डित जस्ता व्यक्ति पनि मेयरकै आकांक्षी बनेका छन् ।पूर्वप्रधानमन्त्री रहेका बाबुराम भट्टराई जस्ता चर्चाभोगी नेताहरु पनि मेयर बन्ने नाममा सामाजिक सञ्जाल भरि छाइरहेका छन् ।मुख्यतः राजनीतिक दलहरुले आफ्नो हितभन्दामाथि उठेर उम्मेदवार चयनको दलीय परिधिलाई खुला राख्न नसक्दा स्थानीय तहको निर्वाचन विकृति अभ्यासमा गइरहेको छ ।