देश

संघीयता उल्टाउन चाहानेहरु अझै पनि छन्: अध्यक्ष दाहाल


काठमाडौँ — नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहने मानिसहरु रहेको दाबी गरेका छन् । मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले नेपालका लागि आम जनताले ल्याएको परिवर्तनको प्रक्रियालाई जनताले अनुभुत गर्ने गरी विकासमा गति लिने र फड्को कसरी मार्ने भन्ने महत्वका साथ उठाउनु पर्ने बताए । अध्यक्ष दाहालले अहिलेको २१ औँ शताब्दीको विश्व, ग्लोबलाइज पनि छ, डिजिटलाइज भएको भन्दै यसको प्रभावले हाम्रो विकास मोडेलमा पारेको नकारात्क र सकारात्मक प्रभावलाई गम्भीरताका साथ अध्ययन गरेर मौलिक किसिमको तरिकाबाट देशको विकास गर्न आवश्यक रहेको बताए । उनले बढ्दो शहरीकरण र त्यसबाट पैदा भएका विभिन्न समस्यालाई समाधान गरेर शहर व्यवस्थापनमा ध्यान दिनु अबको आवश्यक्ता भएको पनि बताए ।