Breaking

मेयरमा नाम नपरेपछि घिमिरेले रुँदै छाडे एमाले


काठमाडौँ — झापाको मेची नगर नगरपालिकाको मेयरको उम्मेद्‍वार सिफारिसमा नपरेपछि एमाले जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरे रुँदै पार्टी छाडेका छन् ।

मेची नगरमा पत्रकार सम्मेलन गरेर उनले सहकर्मीहरुले पटक पटक आफूमाथि अन्याय गरेको भन्दै अन्याय सहनु भन्दा स्वतन्त्र जीवन जिउनु ठीक ठानेर एमाले छाडेको बताए ।

पत्रकार सम्मेलनमा भावुक भएका उनले आफ्ना आँसुले अन्याय गर्नेहरुलाई पिरोल्ने बताए । भने ‘मेरो आँसुले मलाई अन्याय गर्नेहरुलाई पिरोल्ने छ, जसले मलाई यो पार्टीबाट रुँदै रुँदै बाहिरिने अवस्था सिर्जना गरे ।’

पत्रकार सम्मेलनमार्फत एमाले छाडेको घोषणा गरेका उनले स्वतन्त्र बामपन्थीका रुपमा बस्ने तत्काल अरु पार्टीमा नजाने पनि बताए । ६५ वर्षको उनले आफूले सकुञ्जेल वर्गीय जनताको पक्षमा काम गरिरहने बताए । घिमिरेले मेची नगरको मेयर उठ्ने चाहना राखेका थिए । तर एमाले मेची नगर कमिटीले उनको नाम नै सिफारिस गरेको थिएन ।