Breaking

गठबन्धनको बैठक बस्दै, तालमेलको ‘मोडालिटी’ टुंगो लगाउने


काठमाडौँ – सत्ता गठबन्धनले आज तालमेलको मोडालिटीबारे टुंगो लगाउन बैठक बस्दैछ ।

गठबन्धनमा आवद्ध पाँच दलका शीर्षस्थ नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि आज तालमेलको खाकाबारे निर्णय गर्न बैठक बस्न लागेको हो । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कांग्रेस नेता तथा नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिए ।

हिजोको बैठकले स्थानीय तहको आगामी निर्वाचनमा तालमेल गर्ने घोषणा गर्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षरित अपीलमा आगामी निर्वाचनमा आपसी सहकार्य र परस्पर सहयोगका लागि पाँचदलका नेता कार्यकर्तालाई आह्वान गरिएको छ ।

सार्वजनिक अपीलमा लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुष्प्रयास भएको भन्दै परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको दाबी गरिएको छ ।

गठबन्धनले तालमेलको खाका बनाउन चुनावी संयन्त्र समेत बनाएको छ। तल्लो तहको सिफारिसको आधारमा जिल्ला, प्रदेश र केन्द्रको समितिले उम्मेदवार टुंग्याउने बताइएको छ ।