Breaking

गठबन्धनमा भागवण्डाको टकराव, तल्लो तहमा पानी वारावार


काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धन निरन्तर चुनावी तालमेलवारे छलफलमा छ । पटक पटक छलफल गरे पनि सत्ताघटक दलहरुबीच केन्द्र र तल्लो तहको तालमेलबारे सहमति जुट्न सकेको छैन । जसले गर्दा गठबन्धन थप संकट उन्मूख देखिन्छ ।

तालमेल सहित स्थानीय तहको निर्वाचनमा जाने निष्कर्षमा पुगेका सत्ताघटक दलहरु अझै चुनावी समीकरण र उम्मेदवारी बाँडफाँडको मोडालिटबारे सहमति जुटाउन सकेका छैनन् । गठबन्धनमा सामेल शीर्ष नेतृत्व नै सहमति जुटाउन असफल हुँदा चुनावी समीकरण सत्ताघटक दलहरुका लागि फलामको चिउरा चपाए सरह बनिरहेको छ ।

चुनावी तालमेलका सवालमा प्रमुख सत्ता घटक नेपाली कांग्रेस चुनावी तालमेल स्थानीय आवश्यकता अनुसार गरोस् भन्ने पक्षमा छ भने नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पुरानो निर्वाचन नतिजाको हैसियतको आधारमा उम्मेदवार वाँडफाँड हुनुपर्ने पक्षमा छन् । तर तल्लो तहमा अवस्था विल्कुलै फरक छ ।

कांग्रेसको पकड भएको क्षेत्र विराटनगरमा नेपाली कांग्रेस गठबन्धन नगर्ने निर्णय नै गरिसकेको छ । भरतपुरमा गत निर्वाचनमा माओवादीलाई साथ दिएको कांग्रेसले यो पटक मेयर जसरी पनि आफुहरुले पाउनुपर्ने अडानमा छ । अर्को महत्वपूर्ण पाटो द्वन्दकालमा माओवादीले कांग्रेसलाई वर्ग शत्रुको रुपमा हेर्ने गर्दथे ।

द्वन्दको आधार क्षेत्र रुकुम रोल्पा लगायतका क्षेत्रमा माओवादीले कांग्रेस नेताहरुलाई दिएको दुःखलाई नेताहरुले विर्सन सकेका छैनन् । यस्ता कतिपय स्थानमा काँग्रेसले माओवादीलाई स्वीकार गर्न सक्ने अवस्था छैन ।

गठबन्धनभित्रै तालमेल गरे पनि एकले अर्कालाई भोट खसाल्नेमा ठूलो आशंका छ । तर गठबन्धनले भने ठाउँ र अवस्था अनुसार स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढ्न गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई आग्रह गरिरहेको छ ।

स्थानीय तहमा गठबन्धनभित्रैकै एक पार्टीले अर्को पार्टीको अस्तित्व स्वीकार गर्न सकिरहेको छैन । चुनावी तालमेललाई लिएर गठबन्धन थप गिजोलिएको छ । तर नेताहरु शीर्ष नेतृत्वले यी आशंकालाई सहजै सुल्झाएर लग्ने दावी गर्छनन् ।

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा चुनावी माहोल पनि तात्दै गइरहेको छ । सोमवार बसेको सत्तागठबन्धनको वैठकले ठोस निर्णय गर्न सकेन । मंगलवार पुन वैठक वोलाइएको छ , तर निर्वाचनवारे चुनावी ढाँचा सुनिश्चिता गर्न गठबन्धनले सहमतिको फेरो पत्ता लगाउनेमा आशंका कायमै छ ।