राजनीति

सहकार्य गरेर अघि बढ्न गठबन्धनका नेताहरुको आह्वान


काठमाडौँ – सत्तारुढ पाँच दलीय गठबन्धनले ठाउँ र अवस्था अनुसार स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढ्न गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई आह्वान गरेको छ ।

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले एक अपिल जारी गर्दै देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परम्पर सहयोगको भावनाले अघि बढ्न पाँच दलका सबै नेता, कार्यकर्तालाई आह्वान गरेको हो ।

आजको बैठकमा चुनावी तालमेलका लागि संयन्त्र बनाउने विषयमा छलफल भएपनि टुंगोमा नपुगिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।

पाँच दलीय गठबन्धनले आफ्ना उम्मेदवारहरुलाई अमूल्य मत दिई विजयी गराउन पनि आम जनसमुदायलाई आग्रह गरेको छ । प्रतिगामी र परिवर्तन विरोधी शक्तिबाट देशलाई जोगाउन पनि अपिलमा आग्रह गरिएको छ ।