राजनीति

बेलगाम रूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि जारी राखे आन्दोलनमा जाने विद्यार्थी संगठनको चेतावनी


काठमाडौँ – देशका प्रमुख विद्यार्थी संघ सङ्गठनहरूले अन्तर्राष्ट्रिय बजारको कारण देखाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि जारी राखे निर्णायक सङ्घर्षमा जान बाध्य हुने चेतावनी दिएको छ । विद्यार्थी सङ्गठनहरूको आइतबार सम्पन्न संयुक्त बैठकले पटक पटक र बेलगाम रूपमा भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सन्दर्भमा सरकारको ध्यानाकर्षण गर्न गराएको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सृजित महँगी र यातायात एवम् माल बस्तुको ढुवानीमा हुने महँगी अनियन्त्रित हुँदै जाँदा गरिब, किसान, विद्यार्थी मजदुर लगायत आम जनसमुदायमा जनजीवन धान्नै नसक्ने गरी कष्टकर बन्नु अघि नै समाधान निकाल्न तथा विद्युत् लगायत वैकल्पिक ऊर्जा प्रयोगमा जोड दिन उनीहरूले माग गरेका छन् ।

त्यस्तै आर्थिक सङ्कट र रकम अभावको निमित्त कारण देखाएर शिक्षामा घट्दै गएको बजेट संगठनलाई कदापि मान्य नहुने उनीहरूको भनाइ छ । आउने बजेटमा शिक्षा एवं विज्ञान प्रविधि जस्ता क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न विद्यार्थी सङ्गठनहरुले सरकारसँग माग गरेको छ ।

यसको साथै निकट रहेको स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरू बनाउँदा युवालाई प्राथमिकतामा राख्न गठबन्धन सम्बद्ध दलहरूलाई संयुक्त विद्यार्थी सङ्गठनले अपिलसमेत गरेको छ ।

बैठकमा ने.वि.संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी यूनियन, अखिल (क्रान्तिकारी) र अखिल छैटौँ रहेका थिए ।