Breaking

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरु हुँदै


काठमाडौँ — सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट सुरु हुँदैछ । आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पु¥याएर भैरवनाथको रथ तानातान गर्दै जात्रा सुरु गरिन्छ ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो टोलमा तानेर लैजाने परम्परा छ ।

जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । रथलाई तानेर तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ । रथ तानेर लैजाँदा दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिर र बेतालको मुख जुधाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ ।

बिस्का जात्रा हेर्नाले शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । बिस्का जात्राको पाँचौं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिंगो ढालिन्छ । लिंगो ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा गरिन्छ ।

लिंगो ढालिसकेपछि भैरवनाथ र भद्र्रकालीको रथलाई गाहिटी पु¥याई एकापसमा जुधाइन्छ । यसै दिन राति तलेजुमा तान्त्रिक विधिपूर्वक दुमाजु देवीको पूजा गरी जात्रा गरिन्छ ।

जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारीस्थित भैरवनाथको प्राङ्गणमा पु¥याई जात्रा सम्पन्न गरिन्छ ।