Breaking

देउवा–प्रचण्ड ओलीभन्दा गए गुज्रेका,नियुक्तिलाई खल्तीको ‘माल’ बनाए, परिवार र चाकडीवाद हाबी


काठमाडौँ — करिब नौ महिनाअघि सरकार परिवर्तन हुँदा शासकको प्रवृत्ति र सुशासन फर्किने जनताको आश थियो । किनकि एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई गलत साबित गर्दै पाँच दलको सरकार बनेको थियो । तर जनताको आशामा तुषारापात गर्दै सरकार ओलीकै बाटोमा अघि बढेपछि आशासमेत निराशामा बदलिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिवादी चिन्तनलाई तोडिलो प्रहार गरेर झाँको झार्न सफल भएका पाँच दल अहिले सरकारमा छन् । तर ओलीभन्दा हामी फरक हौं भन्दै सरकार सम्हाले गएका उनीहरु अन्ततः झनै गए गुर्जेको निस्किएपछि जनता पनि छक्क परेका छन् ।एक समय थियो, सत्ताको राजकाजमा हालीमुहाली चलाएका ओलीले देश, राजनीति र प्रणालीलाई नमिठो मजाक बनाएका थिए ।

राष्ट्रपति, सभामुख, प्रदेशप्रमुख, निर्वाचन आयोग, अख्तियारदेखि अदालतजस्ता संस्था लोकतन्त्रका खम्बा हुन्, तर ओलीको पालामा तिनको हबिगग कन्तविजोग बन्यो । संविधाननै छायाँमा राखेर गरेकानियुक्ती, मन्त्रीका अनुहार, इज्जत र योग्यता झनै दयनीय थियो । त्यही अवस्थाबाट मुलुकलाई पार लगाउँछौं भन्दै करिब ९ महिना अघिपाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गर्दै नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए । तर आम जनताका लागि ओली र देउवामा रति पनि फरक देखिएको छैन । बरु ओलीभन्दा गठबन्धन झनै घातक साबित हुन खोजिरहेको छ ।र उनै ओली बाहिर बसेर कटाक्ष गरिरहेका छन् ।

एमाले अध्यक्ष ओलीले गैरसांसदलाई मन्त्री बनाएका थिए, सर्वाेच्चले गलत गरेको भन्दै पद खोसिदियो । प्रधानमन्त्री देउवाले पनि असोज २२ मा पहिलोपटक गैरसांसदलाई मन्त्री बनाए, विरोध भएपछि आपूर्तिमन्त्री बनेका गजेन्द्र हमालले २४ घण्टामै राजीनामा दिए । बिहिबार फेरि दोस्रोपटक देउवाले गैरसांसदलाई मन्त्री बनाएका छन् ।ओलीको पालामा गैरसांसद्लाई पटकपटक मन्त्री बनाउन पाइँदैन भन्दै बहस गरेका अधिवक्ता गोविन्द बन्दीलाई उठाएर कानुनमन्त्रीको कुर्सिमा बसाइदिएका छन् । किनकि उनले प्रतिनिधिसभा विघटनदेखि एमसीसीको व्याख्यात्मक घोषणासम्म देउवालाई सघाएका थिए ।उस्तै विवादास्पद नियुक्ति देउवाले नेपाल टेलिकममा पनि गरेका छन् ।

स्वार्थ समूहको घेरामा बसेर विवादास्पद काम गर्दै आएका सुनिल पौडेललाई प्रवन्ध निर्देशक बनाएका छन् ।रिक्त २० मुलुकको राजदूतमा कूटनीतिक विज्ञता भएका होइन, प्रचण्ड नेताका नातेदार, माधव नेपाल र पम्फा भुसालका ज्वाई हुँदै आफ्नै चाकडीबाज र दलका कार्यकर्ता भर्ना गरेका छन् ।अर्थतन्त्र संकटग्रस्त बनेका बेला शुक्रबारमात्रै राष्ट्र बैंकका गभर्नरलाई निलम्बित गरिएको छ ।शंकास्पद ४० करोड बचाउन अर्थमन्त्री जनार्दन शर्माले गरेको लिखित निर्देशनको सुचना चुहाएको आरोप लगाएर गभर्नरमाथि छानबिन भइरहेको छ । आर्थिक अवस्था नाजुक रहेकैबेला कमजोरी लुकाउन सरकारले गरेको कारबाही अनुचित मात्रै होइन, झनै संकट निम्त्यिाउने खालको छ ।

ओली र आफुलाई एकै हुन् नभनिदिन आग्रह गरिरहने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत सत्ता गठबन्धनको सरकार बन्नुको फाइदा लिइरहेका छन् ।छोरी, जुवाई, बुहारी हुँदै राज्यको सुख सुविधामा भाइ नारायणप्रसाद दाहाललाई पनि पु¥याएका छन् । शुक्रबारमात्रैराष्ट्रिय सभाको रिक्त एक पदमा प्रचण्डले भाइलाई मनोनित गरेका हुन् ।४९ सांसद रहेको पार्टीका अध्यक्षलाई परिवारलाई मात्रै देख्ने भएपछि माओवादीमा दाहालतन्त्रको चर्चा चलिरहन्छ । विगतका जे कुरालाई लिएर उनीहरुले तत्कालीन प्रधानमन्त्री ओलीलाई सत्ताबाट निकालेका थिए अहिले त्यही कर्म गरिरहेका छन् । तर उनीहरुलाई रत्तीभर पश्चाताप छैन, बरु जनताले यस्ता शासकलाई पटकपटक सत्तामा पु¥याएको प्रति पश्चाताप गर्नुपर्ने भएको छ ।