विदेश

युक्रेनको युद्धमा आफ्नो सुरक्षा फौजतर्फ ठूलो क्षति भएको रुसको स्वीकार


युक्रेनसँगको युद्धमा आफ्नो सुरक्षा फौजतर्फ ठूलो क्षति भएको रुसले स्वीकार गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युद्धका क्रममा रुसी सेनातर्फ भएको क्षति निकै दु खदायी भएको बताउनुभएको छ । गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । आज ४५औँ दिन पुगिसकेको छ । गएको मार्च २५ मा रुसको रक्षा मन्त्रालयले युद्धमा आफ्ना एक हजार तीन सय ५१ जना सैनिक मारिएको बताएको थियो । तर युक्रेनले झन्डै १९ हजार रुसी सैनिक मारिएको दाबी गर्दै आएको छ । रुस र युक्रेनमा युद्धमा ज्यान गुमाएका सेनाको यकिन तथ्याङ्क भने सार्वजनिक हुन सकेको छैन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता पेस्कोभले बेलायती टेलिभिजन च्यानल स्काइ न्युजसँगको कुराकानीमा युद्धको लक्ष्य प्राप्त हुने दाबी समेत गरेका छन् । संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषदबाट रुसलाई निष्कासन गरेपछि पेस्कोभको यो प्रतिक्रिया आएको हो। परिषद्ले युक्रेनको मानव अधिकार तथा मानवीय सङ्कटप्रति चासो व्यक्त गरेको छ । युक्रेनको बुचामा भएको घटनामा रुसी सेना जिम्मेवार रहेको आरोपलाई पेस्कोभले अस्वीकार गरे । वार्ताबाट युद्ध अन्त्यका उपायको खोजी भइरहेको समेत जानकारी दिए छ । रुसले युक्रेनको किएभबाट आफ्ना सेना हटाउँदै आक्रमणलाई पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । एजेन्सी