Breaking

बौद्धधर्म अध्यापनका लागि खुम्बुमा गाउँपालिकाद्वारा विद्यालय सञ्चालन


काठमाडौँ — बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको खुम्बु पासाङल्हमु गाउँपालिकामा बौद्ध धर्म अध्ययनका लागि विद्यालय सञ्चालन गरिएको छ ।

बौद्ध धर्म दर्शन अध्ययनसहितको अध्यापनका लागि खुम्बु पासाङल्हमु गाउँपालिकाले वडा नम्बर ३ मा मञ्जुश्री आधारभूत विद्यालय सञ्चालनमा ल्याएको हो । यस विद्यालयमा बौद्ध धर्म दर्शनबारे विषय अध्ययनका लागि अनिवार्य गरिएको छ । औपचारिक अध्ययनका शिलशिलामा अन्य विद्यालयमा रहेका सबै विषयहरु पढाई हुने र बौद्ध धर्म दर्शनको अध्ययनका लागि एउटा विषय समावेश गरिएको हो ।

३ वर्षदेखि यो विद्यालय सञ्चालनमा छ । हाल यस विद्यालयमा ३ जना शिक्षकले २४ जना बालबालिकाहरु अध्यापन गरिरहेका छन् । सुरुमा भर्ना भएका बालबालिकाहरु हाल कक्षा दुईमा अध्ययन गरिरहेका छन् । उक्त विद्यालयमा गाउँपालिकाभित्र स्थायी बसोबास गरिरहेका अविभावकले मात्रै आफ्ना बालबालिकालाई पढाउन पाउँछन् ।

संघीय संरचनासहित स्थानीय तहको विकास भई जनप्रतिनिधि चयन भएपछि अधिकांश स्थानीय तहहरुले ऐच्छीक विषय पाठ्यक्रममा समावेश गरेका छन् । बुद्धको जन्मभूमि नेपालमा बौद्ध धर्म संस्कृतीको लोप हुन नदिन विद्यालय तहमै यसबारे शिक्षा प्रदान गर्न जरुरी रहेकाले विशेष विद्यालयको अवधारणा अघि बढाइएको गाउँपालिकाका कार्यबाहक अध्यक्ष टासील्हमु शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले आधारभूत तहको विद्यालय सञ्चालन गरिएको छ, भविष्यमा यही विद्यालयलाई स्तरोन्नती गरी कक्षा १२ सम्म पुर्याउने योजना छ ।’

अध्यापनका लागि बौद्ध धर्म दर्शनबारे शेर्पा भाषा र सम्बोटा भाषा लिपीमा पाठ्यपुस्तकहरु प्रकाशन गरिएको छ । सो लिपीमा अतिरिक्त विषय मात्रै अध्यापन गराउने र अन्य विषयहरु अंग्रेजी तथा नेपाली भाषामा अध्यापन गराउने गरिएको छ । सरकारी मान्यता प्राप्त शिक्षा हुने गरी सो विद्यालय सञ्चालन गरिएको जनप्रतिनिधिहरुको भनाई छ । तीन नम्बर वडाध्यक्ष मिङमाछिरी शेर्पाले भन्नुभयो, ‘हामी चाहन्छौँ मञ्जुश्री विद्यालयको अवधारणाले बौद्धमार्गीहरुको भाषा, लिपी तथा संस्कृति संरक्षणमा टेवा मिलोस ।’ राङडोक गुम्बा परिसरमा निर्माण गरिएको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरलाई सो गुम्बाको पनि स्नेह मिल्ने गरेको छ ।

विद्यालयको पुरै संरचना गाउँपालिकाले नै निर्माण गरेको हो । गाउँपालिकाले विद्यालय तथा आवासका लागि ९० लाख रुपैयाा खर्च गरेर दुर्य वर्ष अघि एक भवन बनाएको थियो । यस वर्ष भान्छाघर र डाइनिङ ३० लाख रुपैयाँ खर्चेर बनाइएको छ । खेल मैदान सम्याउनेदेखि भौतिक संरचनाका लागि कुल एक करोढ ६२ लाख रुपैयाँ खर्च भएको छ । विद्यार्थी तथा शिक्षकहरुको आवास तथा खाना पनि गाउँपालिकाले नै व्यवस्थापन गरिरहेको छ । अहिलेसम्म सोका लागि ८९ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कट्टेलले जानकारी दिनभयो ।