काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताएका छन् ।
प्रज्ञा–स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले शनिवार चितवनमा आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उनले स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले साइकल नै उपयोगी भएको बताए ।
उनले म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको बताए। ‘देशैभरि साइकलका विषयमा सन्देश प्रवाह भएको छ‚’ प्रचण्डले भने‚ ‘पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी छ ।’ अध्यक्ष प्रचण्डले नारायणी किनारमा म्याराथन शुभारम्भ गरेका हुन्। प्रतियोगिता संयोजक सन्तकुमार दरैले प्रतियोगितामा पाँच विधा रहेको जानकारी दिए । इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन् ।
प्रथम हुने १९ वर्षमाथिका महिला तथा पुरुषलाई ४५ हजार रूपैयाँका दरले, ३० वर्षमाथिको विधामा २५ हजार, ५० वर्षमाथिको विधामा २० हजार र चितवन स्पेशल विधामा महिला तथा पुरुषलाई २०/२० हजार रूपैयाँका दरले पुरस्कार रहने आयोजकले जनाएको छ । प्रतियोगितामा दशौं स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ । भरतपुर महानगरमा निर्माणाधीन रिङरोडसहित सडक आयोजना साइकलमैत्री रहेको सन्देश दिन र वातावरण संरक्षणमासमेत टेवा पुर्याउने उद्देश्यले साइकलको प्रयोग बढाउन प्रतियोगिता गराउन लागिएको आयोजकको भनाइ थियो ।
करिब दुई घण्टाको प्रतियोगितामा लगभग ६५ किमी दूरी पार गर्नुपर्ने व्यवस्था गरिएको छ । नारायणी नदी तीरबाट सुरू भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, र्यालीसहित पुनः नारायणी तिरमा आइ समापन हुनेछ । क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विजेता खेलाडीलाई नगदपुरस्कारसहित, पदक तथा प्रमाणपत्र वितरण गरिनेछ र विभिन्न व्यक्तिलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा काठमाडौँसहित हेडौँटा, पोखरा, बारा, पर्सा, एपिएफको समेत सहभागिता रहेको छ । अध्यक्ष प्रचण्डको छोरी ज्ञानु र छोरा प्रकाश दाहालको निधनपछि उनीहरुको स्मृतिमा प्रतिष्ठान बनाइएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।
प्रतिक्रिया