Breaking

कालीगण्डकीलाई साँछी राखी पुलिस र लुम्बिनी फाइनलमा


काठमाडौँ —हाल पाल्पाको तानसेन बजारस्थित रानीमहलमा बिच भलिबल प्रतियोगिता जारी छ । पाल्पामा बिच भलिबलको पहिलो संस्करण सम्पन्नको निकट आइरहँदा प्रतियोगिताले अन्तिम दुई प्रतिष्पर्धि पाइसकेको छ । प्रथम सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता अन्तर्गत शुक्रबार फाइनल पुग्ने टोलीको टुंगो लागेको छ । पाल्पाको तानसेनस्थित कालीगण्डकी किनारमा सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस र लुम्बिनी प्रदेशले फाइनलकोका यात्रा तय गरेका हुन् । भावना डांगी र सरस्वती कट्टेलको जोडी लुम्बिनीले फाइनल पुग्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई हराएको थियो ।

भागरथी जोशीको कप्तानीमा मैदान उत्रेको सुदूरपश्चिमलाई २१–१७ र २१–१४ को सोझो सेटमा पराजित गर्दै लुम्बिनी फाइनल प्रवेश गर्न सफल भएको हो । यता कमला पुन र मनिषा चौधरी जोडी रहेको पुलिसले भने गण्डकी प्रदेशलाई २१–१९ र २१–१४ सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्याे । सेमीफाइनलमा पराजित भएका सुदूरपश्चिम र गण्डकीबीच तेस्रो स्थानका लागि भोली शनिबार प्रतिष्पर्धा हुँदै छ । त्यस्तै फाइनल खेल पनि भोली नै हुने छ ।

यसअघि आज नै सम्पन्न भएको क्वार्टरफाइनलका खेलमा फाइनल प्रवेश गरेको लुम्बिनीले विभागीय टोली एपीएफलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । लुम्बिनीले २१–१७ र २१–१३ को नतीजाले एपीएफलाई पाखा लगाएको थियो । त्यस्तै, पुलिसले प्रदेश १ लाई पराजित गर्दै सेमीफाइनलको टिकट काटेको थियो । पुलिसले अञ्जना लिम्बुको कप्तानीमा रहेको प्रदेश १ लाई २१–१ र २१–६ को नतीजा निकाल्दै २–० को सोझो सेटमा पाखा लगाएको थियो । फाइनल प्रवेश गर्नबाट एक कदमपछि परेको सुदूरपश्चिमले बागमती प्रदेशमाथि सहज जित निकाल्दै सेमीफाइनलमा स्थान बनाएको थियो ।

क्वाटरफाइनलमा कमजोर प्रतिद्वन्दीको सामना गरेको सुदूरपश्चिमले बागमतीलाई २१–८ र २१–७ को सोझो सेटमा पराजित गरेको थियो । निकै रोमाञ्चक बनेको अन्तिम क्वाटरफाइनल खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २–१ को सेटमा पराजित गर्याे । पहिलो सेट २१–१२ ले जितेको गण्डकीले दोस्रो सेट भने २१–२३ ले गुमायो । अन्तिम सेटमा पुनरागमन गर्दै गण्डकीले १५–८ ले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको थियो तर, सेमीफाइनलमा पुलिससँगको हारपछि गण्डकीको फाइनल खेल्ने सपना टुंगिएको छ । सञ्जय ममोरियल फाउन्डेसनको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा दुई विभाग र सात प्रदेशको सहित ९ टिमले सहभागिता जनाएका छन् । कालीगण्डकी किनारमा भइरहेको बिच भलिबलको विजेताले एक लाख रुपैंया र उपविजेताले ५० हजार रुपैंया प्राप्त गर्ने छन् ।