देश

गठबन्धनको तेज देखेर ओली बेहोस: माधव नेपाल


काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली गठबन्धनको तेज देखेर बेहोसी अवस्थामा बर्बराउन थालेको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी को जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन बारा आएका अध्यक्ष नेपालले ५ दलीय गठबन्धन देशैभरि पानीको बहाव भन्दा तेज गतिमा अगाडि बढेको दाबी गरे । गठबन्धनको तेज देखेर ओली बेहोस अवस्थामा बर्बराइरहेको र उनलाई होसमा ल्याउन सहयोग गर्न नेपालले आग्रह समेत गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले प्रतिगामी प्रवृत्तिलाई पराजित गर्न, संविधान र अर्थतन्त्रको रक्षा एवं समाजवादलाई साकार पार्न पाँच दलीय गठबन्धन भएको बताए । उनले भने, ‘अर्को पक्षले प्रतिगामी शक्तिहरूसँग साँठगाँठ गरिरहेको छ, संविधान विरोधी तत्वहरु, यथास्थितिवादी तत्वहरुसँग साँठगाँठ गरिरहेको छ ।’ अगामी निर्वाचनमा देशभरका ११ उपमहानगरमध्ये नेकपा एकीकृत समाजवादले तीनवटा उपमहानगरमा दावी गर्ने अध्यक्ष नेपालले जनाएका छन् ।