Breaking

आजदेखि देशभर टाइफाइडविरुद्ध खोप अभियान


काठमाडौँ — सरकारले आज (शुक्रबार) देखि देशैभर टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन गर्दै छ ।

यो सफल पार्न स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बिहीबारै सम्बन्धित पक्षलाई निर्देशन दिइसकेका छन् । अभियानको औपचारिक उद्घाटन पनि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व स्वास्थ्य दिवसका अवसरमा हिजै काठमाडौँमा आयोजित एक समारोहका बीच गरिसकेका छन् ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री खतिवडाले सम्बन्धित अभियानकर्तालाई कुनै बहाना नगरी टाइफाइडविरुद्धको खोप अभियान सम्पन्न गर्न निर्देशन दिएका हुन् । मन्त्री खतिवडाले अहिले स्थानीय तहको निर्वाचन नजिकिरहेकाले विभिन्न बहानामा खोप अभियान भड्काउन खोज्ने सम्भावना रहेको उल्लेख गर्दै सम्बन्धित पक्षलाई सचेत गराएका छन् । यस क्रममा उनले नेपाल टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने दक्षिण एसियामै पहिलो राष्ट्र भएको पनि बताए ।

उनका अनुसार टाइफाइडविरुद्धको खोप अभियान आजदेखि देशव्यापी रुपमा ५० हजारभन्दा बढी विद्यालय वा खोपकेन्द्रमा सञ्चालन हुनेछ। यसअघि नेपालमा ११ प्रकारका खोप राष्ट्रव्यापी रुपमा सुरु भइसकेको जानकारी दिँदै स्वास्थ्य मन्त्री खतिवडाले अब टाइफाइडविरुद्धको खोप पनि सुरु नियमित खोप अभियानको संख्या १२ पुग्ने बताए ।

उनले यो अभियानमा लाग्ने अभियानकर्ताहरूलाई स्थानीय तहको निर्वाचनका कारण प्रभावित भयो भन्ने बहाना नबनाई काम गर्न निर्देशन दिएका छन् । उनका अनुसार चैत २५ गते (आज) देखि वैशाख १८ गतेसम्म लगभग २४ दिन १५ महिनादेखि १५ वर्षसम्म उमेरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइनेछ ।