Breaking

चुनावी तालमेलले काँग्रेसमा फाटो, शेखर पक्ष गठबन्धनको विरुद्धमा, महाधिवेशनको तुष कायमै चुनावमा असर


काठमाडौँ — सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेस चुनावी तालमेलको निर्णय गरिसकेपछि पनि अन्योलमा छ । चुनावी तालमेलबारे पार्टीभित्रै एक मत नआएपछि काँग्रेसलाई चुनाव जित्न आन्तरिक एकता नै पहिलो चुनौती बनेको छ । निर्वाचनका बेला नेपाली काँग्रेसमा झण्डाबोक्ने धेरै देखिन्छन्, बाकसमा मत कम देखिन्छ । चुनावमा हार ब्यहोरेपछि समीक्षा गर्दै अन्तरघात भएको निष्कर्ष निकाल्ने काँग्रेसले आगामी निर्वाचनमा पार्टी एकढीक्का बनाउने कसम खान्छ । तर निर्वाचन आउँछ फेरि उही किचलो मचिन्छ ।

नेपाली काँग्रेसको यो हबिगत आगामी बैशाख ३० का लागि तोकिएको स्थानीय तहमा निर्वाचनमा समेत दोहोरिएको छ । यसपटकको अन्तरविरोध भने आफ्ना लागि नभई गठबन्धनमा आवद्ध दलहरुलाई सहज बनाउन भइरहेको छ । प्रधानमन्त्रीसमेत रहेकासभापति शेरबहादुर देउवा गठबन्धनका दलहरुलाई बोकेरै निर्वाचनमा जानअघि बढेपछी संस्थानइतरको नेतृत्व गरेका शेखर कोइरालासहितका नेताहरु असन्तुष्ट छन् ।संस्थागत निर्णयमा सहमति जनाएका उनीहरु अझै पनि गठबन्धनको तालमेलमाथि प्रश्न उठाइरहेका छन् ।

१४ औं महाधिवेशनपछि पार्टीलाई रुपान्तरित गर्दै लैजान अघि बढेको शेखर पक्ष सभापति देउवाले मनोमानी गर्न थालेको आरोप लगाएर प्रतिरोधमा उत्रिएको छ ।आसन्न निर्वाचनमा एक्लै चुनावमा गएर जित्न सक्ने बलियो आधार हुँदाहुँदै पनि माओवादीलगायतका दललाई बोकेर जानुपरेपछि शेखर पक्षले असन्तुष्टि जनाएको हो । देउवाकै दबाबमा सहमति जनाएपनि अहिले औचित्य र आवश्यक्ताका आधारमा मात्रै चुनावी तालमेल गर्ने शेखर पक्षको दाबी छ । यसले काँग्रेसभित्रको विवादित खाडल झनै भाँसिने खतरा मात्रै छैन, गठबन्धनकै अन्य दललाई समेत चिड्ढ्याउने काम गरेको छ । महाधिवेशन यता पनि आन्तरिक मतभेद्मै रहेको नेपाली काँग्रेसभित्रचुनावमा कसलाई टिकट दिने भन्ने विवाद बढ्दै गएको छ ।

चुनाव जित्ने उम्मेद्वार नभइ, दुबै पक्ष आफु निकटस्थलाई टिकट उपहार दिने पक्षमा छन् । जसको तिक्तता वडा तहसम्मै फैलिएको छ । फलतः काँग्रेसलाई आन्तरिक एकता कायम गर्नुनै पहिलो चुनौती बनेको छ ।