Breaking

छापाखानामा चुनावी चटारो, पार्टीका झण्डा छाप्न भ्याइनभ्याइ


काठमाडौँ — स्थानीय तहको निर्वाचन आउन अब ३६ दिन मात्र बाँकी छ । राजनीतिक दलहरु निर्वाचनको तयारीमा होमिएका छन । आसन्न निर्वाचनको चटारो उपत्यकाका छापाखानामा समेत देख्न पाइन्छ । निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद ४, को घ मा राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यतिmले दलको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट टि–सर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने उल्लेख छ । उम्मेदवारले एफो साइज कागजमा आफ्नो व्यतिmगत पहिचान को विवरण खुलाए बाधा नपर्ने उल्लेख छ ।

यता राजनीतिक दलहरु भने निर्वाचन प्रचार प्रसारमा आयोगको प्रचार मात्र प्रभावकारी नहुने बताउँछन । राजनीतिक दल चुनाव चिह्न वारे नागरिक जानकारी नहुने हुँदा यो नै विकल्प भएको राजनीतिक दलका कार्यकर्ताहरुको बुझाई छ । आचारसंहिताको ठिक विपरित अहिले राजधानीका अधिकांश छापाखाना राजनीतिक दलका झण्डा, टि–सर्ट, क्टाप,व्याचले सजिएको पाइन्छ । व्यवसायीहरुले विज्ञापन नै बनाएर प्रचार सामग्री छाप्ने प्रतिस्पर्धामा छन । आसन्न स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारका लागि आवश्यक पर्ने यी सामाग्रीहरुको माग धमाधम बढेकाले यहाँका स्क्रिन प्रिन्ट सेन्टरहरुमा यतिबेला पार्टीका झण्डा छाप्न भ्याइनभ्याइ छ । कतिपय व्यापारीहरुले निर्वाचनका लागि आवश्यक झण्डा, टोपी, व्याचहरु भारतबाट समेत झिकाइसकेका छन । यस्ता सामानहरुको माग उच्च आउन थालेको व्यापारीहरु बताउँछन ।

चुनावी प्रचार प्रसारका नाममा छापिने झण्डा, पर्चा, पम्पलेट छपाइ, टि–सर्ट, ब्याच छपाइका कारण आर्ट सेन्टर र छापाखानाहरुले स्वरोजगार त भएका छन । तर चुनाव प्रचार प्रसारको माध्यम कति प्रभावकारी छ यसको लेखाजोखा गर्ने कसले ? मतदाता शिक्षाको प्रभावकारी माध्यम के हो यस विषयमा पनि वृहत छलफल हुन जरुरी छ । निर्वाचन महंगो भयो भन्ने तर आफै आचारसंहिता विपरितका प्रचार सामाग्री बनाएर थप भड्किलो बनाउने राजनीतिक दलको पनि ध्यानकर्षण हुन जरुरी छ ।