विदेश

अमेरिकाद्वारा रूसमाथि थप प्रतिबन्धको घोषणा


काठमाडौँ — अमेरिकाले झन्डै डेढ महिनाअघि युक्रेनमाथि आक्रमण गरेको रूसविरूद्ध थप आर्थिक प्रतिबन्धहरू लगाएको छ । युक्रेनको राजधानी किभनजिकैको बुचामा दर्जनौं युक्रेनीका शव भेटिएको घटनापछि अमेरिकाले रूसमाथि थप प्रतिबन्ध घोषणा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् । यसपालिको प्रतिबन्धमा अमेरिकाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुई छोरीलाई पनि समेटेको छ । पुटिनका छोरीहरू क्याटरिना र मारियाले बाबुको सम्पत्ति लुकाएको भन्दै उनीहरूमाथि प्रतिबन्ध लगाइएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार पुटिनकी छोरी क्याटरिना रूसी सरकार र उसको प्रतिरक्षा प्रणालीलाई सघाउने प्रविधि कम्पनीकी कार्यकारी प्रमुख हुन् । यस्तै, मारियाले रूसी सरकारको अनुदानमा जेनेटिक अनुसन्धान कार्यक्रम चलाइरहेकी छिन् । अमेरिकाले घोषणा गरेको प्रतिबन्धमा रूसी विदेशमन्त्री सर्जेई लाभरोकी श्रीमती र छोरीलाई पनि समावेश गरिएको छ ।