काठमाडौँ — हास्य कलाकार दिनेश काफ्ले पनि चुनावी मैदानमा उत्रिने भएका छन् । स्थानीय निर्वाचनमा उनी सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष उम्मेदवार बन्ने भएका हुन् । नेकपा माओवादी केन्द्र ले सर्वसम्मतबाट उनलाई वडा अध्यक्ष उम्मेदवारको रुपमा अगाडि सारेको हो । माओवादी केन्द्रले वडा अध्यक्ष उम्मेदवारको रुपमा अगाडि सारेकोले आफु चुनावका लागि अगाडि बढी सकेको काफ्लेले बताए ।
‘ब्यक्तिगत रुपमा म धेरै ठाउँहरु घुमे । केही हदसम्म सफलता पनि प्राप्त भयो । तर मेरो समाज अगाडि बढेन’ काफ्लेले भने, ‘समाज, देश पछाडि भयो भने हाम्रो जति नै प्रगति भएपनि काम नहुने रहेछ ।’ बाहिर जति टिकटक भएर हिँडे पनि बुबाआमाले दुख गरेर खानुपर्छ भने त्यसको सफलताको केही अर्थ नहुने धारणा राख्ने काफ्लेले समाज र देश निर्माणका लागि आफु उम्मेदवार बन्न लागेको सुनाए ।
‘म जुन वडाको उम्मेदवार बन्दैछु । त्यो नगरपालिका भएपनि भौगोलिक विकटता छ । ती पछि परेका नागरिकलाई आफ्नो हक अधिकारको लागि बोल्नसक्ने बनाउने र जति पनि बाँच्नका लागि आवश्यक चिज छन् । ती सहज र सहल रुपमा उपलब्ध गराउने मेरो अर्को उद्देश्य हो’ काफ्लेले थपे, ‘नगरपालिकाको विकास, कृषि उत्पादनमा जोड, खानेपानीको ब्यवस्थापन, मोटरबाटो, शिक्षा लगायत काम गर्छु ।’ यस अगाडि पटक–पटक जितेर जाने जनताको काम गर्न नसकेकाले बालकदेखि बृद्धसम्मको वडा भेलाले आफुलाई उम्मेदवारको रुपमा अगाडि सारेको काफ्लेको भनाई रहेको छ । काफ्ले नेपाली कलाक्षेत्रका चर्चित हास्य कलाकार हुन् ।


प्रतिक्रिया