काठमाडौँ — संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकलाई मंगलबार सम्बोधन गर्दै जेलेन्स्कीले रुसी सैनिकले आफ्नो देशमा सर्वसाधारणको हत्या तथा गम्भीर यातना दिएको बताएका हुन् । राजधानी किएभ नजिकको बुचासहितका क्षेत्रमा रुसी सैनिकको आफ्नो ‘विलाशिता’ का लागि सर्वसाधारणमाथि ट्यांक गुडाएको राष्ट्रपति जेलेन्स्कीले सुरक्षा परिषदको बैठकलाई सम्बोधन गर्दै आरोप लगाएका छन् । सर्वसाधारणमाथिको अत्याचारमा संलग्नहरुलाई नाजी अत्याचारी जस्तो व्यवहार गरिनु पर्ने माग उनको छ । बुचामा सर्वसाधारणका शव जलाइएको, हात बाँधिएको, सडकमा अलपत्र छोडिएको, सामूहिक रुपमा गाडिएको अवस्थामा भेटिएको छ । रुसी सैनिक त्यहाँबाट फिर्ता भएपछि विनाश र गम्भीर हत्याका तस्बिर बाहिरिएका थिए ।
भिडियो लिंक मार्फत गरेको सम्बोधनपछि जेलेन्स्कीले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदलाई हत्या गरिएका युक्रेनी, जलाइएका सर्वसाधारण तथा अलपत्र छोडिएका शवको तस्बिरसहितको भिडियो देखाएका थिए । उनले भनेका छन्, ‘हाम्रो देशको सेवा गर्नेहरुको खोजी गरेर नियतबस रुसी सैनिकले हत्या गरेका छन् । उनीहरुले बालबालिकासहितको पूरा परिवारको हत्या गरेका छन् । अपराध लुकाउनका लागि शव जलाउने प्रयास गरेका छन् । तर संयुक्त राष्ट्रसंघमा रुसी राजदूत भासिली नेबेन्जियाले रुसी सैनिकले ती अत्याचार गरेको भन्ने प्रमाण नरहेको दाबी गरे । उनले भनेका छन्, ‘रुसी सैनिकका सम्बन्धमा गरिएको गलत कुरा हामीले फेरि सुनेका छौँ । जेलेन्स्कीले संयुक्त राष्ट्रसंघसँग युद्ध अपराधविरुद्ध काम गर्न आग्रह गरे । केही नगरेमा विश्वका देशहरुको संगठन हुनुको कुनै अर्थ नरहेको बताए । के तपाईँहरु युएन बन्द गर्न तयार हुनु भएको हो अन्तर्राष्ट्रिय कानुनको समय गएको हो यदी तपाईँहरुको उत्तर होइन भन्ने हो भने तत्काल काम गर्नु पर्छ । अपराधीलाई कानुनी दायरामा ल्याउनै पर्छ । जेलेन्स्कीले भनेका छन् । जेलेन्स्कीले भनेका छन्, ‘हामी त्यो देशसँग जुधिरहेका छौँ जसले हत्याका लागि आफ्नो भिटो प्रयोग गरिरहेको छ । उनले विशेष अन्तर्राष्ट्रिय फौजदारी अपराध अनुशन्धान समिति बनाउन माग गरेका छन् । यस्तै रुसलाई सुरक्षा परिषदबाट हटाउन पनि जेलेन्स्कीले माग गरे । उनले भनेका छन्, ‘उनीहरुले युक्रेनमा नगरेको कुनै त्यस्तो अपराध छैन । विश्वले रुसले कब्जा गरेका अरु शहरमा भएका अत्याचार देख्न बाँकी नै छ’, जेलेन्स्कीले भनेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुचामा मारिएका सर्वसाधारणको तस्बिर आफूले कहिल्यै बिर्सन नसक्ने बताएका छन् । युक्रेनमाथि रुसको आक्रमण विश्वव्यापी रुपमा सामान गरिएको सबैभन्दा ठूलो चुनौति मध्ये एक रहेको उनले बताए । अमेरिकाले रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट हटाउन माग गरेको छ । रुसी आक्रमणको विरोध गर्न हिचकिचाउँदै आएको चीनले सर्वसाधारणको हत्याका खबर निकै डरलाग्दो रहेको बताएको छ । तर आरोप तथ्यहरुबाट प्रमाणित हुनु पर्ने बताएको छ । एजेन्सी
विदेश


प्रतिक्रिया