देश

भारतीय मोटिभेसनल स्पिकर विवेक बिन्द्रा नेपाल आउँदै


काठमाडौँ — भारतीय मोटिभेसनल स्पिकर विवेक बिन्द्रा नेपाल आउने भएका छन् । दुईदिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी वैशाख ९ गते काठमाडौं आउन लागेका हुन् । जिनियस इन्साइडर र ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपको आयोजनामा वैशाख १० गते गोदावरीको सनराइन कन्भेन्सन हलमा विन्द्राले प्रशिक्षण दिने कार्यक्रम छ । जसमा सर्वसाधारण र विभिन्न पेशामा कार्यरत व्यक्तिहरुले सहभागिता जनाउन सक्ने आयोजक जानकारी दिए ।

विन्द्राको नेपाल भ्रमणको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन र उद्यमशीलता विकास गर्नु रहेको अध्यक्ष डुम्रेले बताए । उनले कोरोना महामारीबाट संकटग्रस्त बनेको उद्योग–व्यवसायको पुनरुत्थान, गहिरिंदो तरलता अभाव, यसका कारण र समाधानमा केन्द्रित भएर प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । नेपालमा उनको प्रशिक्षणमा सहभागी हुन ८ हजारदेखि २० हजार रुपैयाँसम्मको टिकटदर तोकिएको अध्यक्ष डुम्रेले बताए ।