समाचार

मधेश अझै पनि विभेदमा छ: महन्त ठाकुर


काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले नागरिकता बिहीनलाई नागरिकता दिन सरकारलाई आग्रह गरेका छन् । नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले सरकार अध्यादेश मार्फत भएपनि नागरिकता बिहीनलाई नागरिकता दिने व्यवस्था मिलाउन आग्रह गरेका हुन् । उनले युवाहरुको हातमा एकेडमी सर्टिफिकेट, शिप भएपनि नागरिकता नभएकाले अधिकांश मधेश क्षेत्रका युवाहरु बेरोजगार भएकाले नागरिकहरुको अस्तित्व बचाउनका लागि तत्काल नागरिकता दिन आग्रह गरे ।

सत्तापक्षले मधेश स्वीकार्छ तर मधेशी किन स्वीकार्दैन भन्ने प्रश्न गर्दै अझैपनि शासक वर्गहरु मधेशी प्रति भेदभाव गर्दै आएको जिकिर गरे । नागरिकता विधेयक संसदमा विचाराधीन रहेको भन्दै उनले विगतदेखिका सरकारले नागरिकता नदिने षडयन्त्र गर्दै आएको आरोप लगाए । उनले पहाडी क्षेत्रमा बसोबास गर्ने व्यक्तिको प्रति व्यक्ति आय ९ हजार र मधेश क्षेत्रको प्रति व्यक्ति आय ७ हुनुको कारण नागरिकता नै रहेको बताए । देशमा आन्दोलनबाट परिवर्तन आएको भन्दै ठाकुरले शान्तिपुर्ण आन्दोलनमा पनि सत्तापक्षद्वारा दमन र हिंसा गर्ने कार्य हुँदै आएको बताए ।