काठमाडौँ — विराटनगर नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सकिने धारणा प्रकट गरेका छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसले राष्ट्रियस्तरमै वामपन्थी पार्टीसित गठबन्धन गर्न लागिरहेका बेला नेता कोइरालाले तालमेलको अवधारणा अघि सारेका हुन् । कोइरालाले सुरुदेखि नै गठबन्धनको विरोध गर्दै आएका थिए । विराटनगर विमानस्थलमा बुधवार सञ्चारकर्मीसँग कोइरालाले भने, ‘कुन ठाउँमा कोसित मिलेर जाने भन्ने निर्णय स्थानीय आवश्यकता र त्यहाँका कार्यकर्ताको छलफलबाट हुने हो । त्यही गर्नुपर्छ । माथिबाट लादिएको गठबन्धनलाई स्वीकार गर्न सिद्धान्तनिष्ठ कांग्रेसजन तयार छैनन् ।
उनले स्थानीय आवश्यकताअनुसार स्थानीय नेता र कार्यकर्ताले गर्ने तालमेललाई पनि गठबन्धन नभनेर तालमेल नै भन्नुपर्ने विचार व्यक्त गरे। कोइरालाले पार्टीका तल्ला तहका समितिले गर्ने चुनावी टिकटको निर्णयमा माथिल्लो समिति वा केन्द्रले हस्तक्षेप गर्न नहुने आग्रह गरे । कोइरालाले विधानअनुसार जुन समितिले जसको टिकट वितरण गर्ने हो त्यही समितिले गर्नुपर्ने अडान प्रस्तुत गरे । तर, विधानविपरीत केन्द्रले हस्तक्षेप गरेर टिकट वितरण गर्छ भने विद्रोह हुनसक्छ र यसको परिणाम राम्रो नआउन सक्छ,’ उनको चेतावनी थियो । कोइरालाले अहिले आएर अर्थतन्त्रको नाजुक स्थिति हुनुमा अहिलेको सरकारको मात्र दोष नभएको टिप्पणी गरे । उनले अहिलेको अवस्था पुराना सरकार र पहिलेका अर्थमन्त्रीको अक्षमताबाट सिर्जना हुँदै आएको र अहिले विकराल भएको उल्लेख गरे । उनले तत्काल अत्यावश्यक वस्तुको मात्र पैठारी खुला गर्नुपर्ने र सरकारी तहमा व्यापक वित्तीय अनुशासन कायम गरिनु पर्ने सुझाव दिए ।


प्रतिक्रिया