Breaking

खुमलटार पुगेपछि पित्तबहादुरको चित्त फर्कीयो : भन्छन् – एमालेको परिबन्दमा परेँ, जनताले सुत्न दिएनन्


काठमाडौँ — नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा ९एमाले० प्रवेश गरेका धादिङ बेनीघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) फेरि मा‌ओवादीमै फर्किएका छन् ।

२ दिनभित्रै पुरानै पार्टीमा फर्किएका डल्लाकोटीले बुधवार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । प्रचण्डकै निवास खुमलटार पगेर डल्लाकोटीले आफू परिबन्दमा परि एमालेमा प्रवेश गरेको स्पष्टिकरण दिएको प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए । डल्लाकोटीले चैत्र २१ गते ओलीको हातबाट टीका र माला लगाएर एमाले प्रवेश गरेका थिए ।

‘अध्यक्षज्यू, केहि मान्छेको परिबन्दमा परि बालकोट पुगेँ। यसमा मेरो गल्ती भो,’ डल्लाकोटीको भनाइ उदृत गर्दै मल्लले भने । तर, जनता र कार्यकर्ताले आफूलाई २ दिनसम्म नछोडेको र राति सुत्न नदिएको प्रचण्डलाई डल्लाकोटीले स्पष्टिकरण दिए ।

‘मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन्, सुत्न नि दिएनन्। मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु। र, म २ दिनमै घर फर्केको छु,’ डल्लाकोटीले प्रचण्डलाई भनेका छन् । प्रचण्डले अब गल्ती महसुस गरिसकेकाले काममा फर्किन भनेका थिए ।