काठमाडोँ — अमेरिकी राष्ट्रपतिको कार्यालय र निवास रहेको ह्वाइट हाउसमा वर्षौंपछि विवाह भोज हुने भएको छ । द न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति जो बाइडेनले केही महिनापछि ह्वाइट हाउसमा आफ्नी नातिनीको विवाहको भोज दिँदै छन् । जो बाइडेनका छोरा रोबर्ट हन्टर बाइडेनकी छोरी नाओमी बाइडेनको विवाहपछि आगामी नोभेम्बरमा ह्वाइट हाउसमा भोज हुने जनाइएको छ । २८ वर्षीया नाओमीले २४ वर्षका केटा साथी पिटर निलसँग विवाह गर्न लागेकी छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले आफ्नो विवाहको भोज ह्वाइट हाउसमा गर्न लागेकोमा हजुरबुवा र हजुरआमालाई धन्यवाद दिएकी छन् । ह्वाइट हाउसको भोजमा क(कसलाई बोलाउने भन्ने टुंगिन बाँकी रहेको अधिकारीहरूले बताएका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालयमा राष्ट्रपतिका परिवारको विवाह समारोह बिरलै हुने गरेका छन् । सन् २००८ मा तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसकी छोरीको विवाह भोज ह्वाइट हाउसमा भएको थियो । सन् १९७१ मा राष्ट्रपति रिचार्ड निक्सनकी छोरीको विवाह समारोह ह्वाइट हाउसको रोज गार्डेनमा भएको थियो । अहिलेसम्म अमेरिकी राष्ट्रपतिका ९ जना सन्तानले ह्वाइट हाउसमा हुँदा विवाह गरेका छन् भने एक जना राष्ट्रपतिको नै विवाह ह्वाइटहाउसमा भएको छ । सन् १८८६ मा राष्ट्रपति ग्रोभर क्लेभल्यान्डले ह्वाइट हाउसमै विवाह गरेका थिए। रेकर्डमा भएअनुसार ह्वाइट हाउस सबैभन्दा पहिला सन् १८१२ मा विवाह समारोह भएको थियो । त्यतिबेला तत्कालीन प्रथम महिला डली म्याडिसनकी बहिनीले ह्वाइट हाउसबाट विवाह गरेकी थिइन् ।
,


प्रतिक्रिया