देश

सत्ता गठबन्धन दलहरूको चुनावी तालमेल कुनै शक्तिविरूद्ध लक्षित गरेको होइनौं: पुन


काठमाडौँ — नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तुले सत्ता गठबन्धन दलहरूको चुनावी तालमेल कुनै शक्तिविरूद्ध लक्षित नरहेको बताएका छन् । पुनले एमालेविरूद्ध नभई संविधान र व्यवस्थामाथि प्रहार गर्ने केपी ओली प्रवृत्तिविरूद्ध आफूहरू उभिएको बताए । लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गरिएकाले त्यसबाट कोही पनि आतंकित हुनु नपर्ने उनको भनाइ थियो । हामीले कुनै दल वा शक्तिविरूद्ध गठबन्धन गरेका होइनौं’, बाराको कलैयामा चुनाव लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सोमबार पुनले भने, ‘संविधान बचाउन, लोकतन्त्र बचाउन र राजनीतिक क्रान्तिका उपलब्धी रक्षा गर्नुपर्छ भन्ने विचार बोकेका शक्तिबीच सहकार्य गरेका हौं ।

उनले गठबन्धनलाई राजनीतिक चरित्रको संज्ञा दिए । उनले एमाले अध्यक्ष केपी ओलीले दक्षिणपन्थी प्रवृत्तिको नेतृत्व गरेको भन्दै गठबन्धन आवद्ध दलहरू लोकतन्त्र पक्षधर भएको दाबी गरे । राप्रपा र राप्रपा नेपालका नेताहरूसँग भेटेर चुनावी सहकार्यको प्रस्ताव राख्नु तथा मधेसमा महन्थ ठाकुरसँग घाँटी जोड्नुले ओली घोर दक्षिणपन्थी भएको प्रमाणित भएको तर्क गरे । विगतमा मधेसी जनताको अधिकारको विरूद्ध खडा भएका ओली अहिले कसरी मधेसका पक्षमा उभिन सक्छन् भन्ने प्रश्न पुनले गरे ।
ओली धार्मिक राज्यको एजेण्डा बोकेर मधेस पसेको भन्दै उनले अन्धराष्ट्रवादी शक्तिबाट मुलुकलाई खतरा रहेको टिप्पणी गरे । पुनले मधेसको अधिकारका लागि माओवादी लडेको भन्दै मधेसमा निर्वाचन जित्ने हक माओवादीलाई मात्र भएको दाबी समेत गरेका छन् ।