देश

स्थानीय तह निर्वाचनमा तालमेलका लागि तयारी तथा अनुगमन समिति गठन


काठमाडोा — प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा पाँचै दलबाट सदस्य पठाउने दलहरुबीच सहमति भएको छ । बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले मंगलबार नै दलहरुले नाम दिने जानकारी दिइन् ।

उनकाअनुसार तयारी तथा अनुगमन समितिको बैठक बुधबार बस्ने छ । बैठकले तल्लो तहबाट आएका प्रतिवेदनका आधारमा तालमेलको मोडालिटीबारे निर्णय गर्ने समझदारी बनेको पौडेलले बताएका छन् । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले साझेदार दलहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणबारे ‘ब्रिफिङ’ गरेको जानकारी दिए ।

उनले बैठकमा स्थानीत तह निर्वाचनको तयारीबारे पनि छलफल भएको बताए । स्थानीय निर्वाचन तयारी र पाँच दलबीच तालमेल गरेर कसरी अगाडि बढ्ने भन्ने बारेमा प्राविधिक विषयमा कुराकानी भयो’, नेता खनालले भने । उनले बैठकमा मुलुकको अर्थतन्त्रबारे सरकारको ध्यानाकर्षण गराइएको पनि बताए। ‘अर्थतन्त्रको बारेमा सरकारले गम्भीरतापूर्वक लिनुपर्यो भन्नेबारे छलफल भयो’, खनालले भने ।