Breaking

उम्मेदवार तत्कालै टुंगो नगर्न नेपाली कांग्रेसको सर्कुलर


काठमाडौँ — नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तत्काल उम्मेदवारको टुंगो नलगाउन मातहतका कार्य समितिहरुलाई सर्कुलर गरेको छ । आसन्न निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन पार्टीका वडा, पालिका, क्षेत्रीय र जिल्ला कार्यसमितिहरूले छलफल अगाडि बढाइरहेका बेला कांग्रेसले मौखिक रुपमा सर्कुलर गरेको हो । कांग्रेस केन्द्रीय कार्यालय सानेपाले उम्मेदवार सिफारिससम्बन्धी कामहरु तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको कांग्रेस कञ्चनपुरका सचिव भीम भट्टले जानकारी दिए । अहिलेसम्म जे जति काम भएको छ त्यसलाई अहिले होल्ड राख्न केन्द्रीय कार्यालयबाट टेलिफोनमा भनिएको छ,’ उनले भने ।

कांग्रेसले तोक्यो उम्मेदवार छान्ने समय तालिका, वैशाख १ सम्म केन्द्रमा पठाइसक्नुपर्ने यसअघि उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मातहतलाई परिपत्र गरेर उम्मेदवार टुंग्याउने समयावधि तोकेको थियो । जसअनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुङ्ग्याएर नामावली बुझाउन निर्देशन दिइएको थियो । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको थियो ।