Breaking

रुसलाई मानव अधिकार परिषदबाट हटाउने प्रस्ताव राष्ट्रसंघमा लैजाँदै अमेरिका


काठमाडौँ — अमेरिकाले संयुक्त राष्ट्रसंघको महासभामा रुसलाई मानव अधिकार परिषदबाट हटाउने प्रस्ताव गर्ने भएको छ । सोमबार राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि लिन्डा थोमस ग्रिनफिल्डले यस्तो जानकारी दिएकी हुन् ।

युक्रेनले बुचामा रुसले दर्जनौं आम नागरिकको ‘नरसंहार’ गरेको आरोप लगाएसँगै अमेरिकाले यस्तो तयारी गरेको हो । राष्ट्रसंघका १९३ सदस्यहरुले दुईतिहाइको मतबाट रुसलाई मानव अधिकार परिषदबाट हटाउन सक्छन् । ठूलो र प्रणालीगत रुपमा नै मानव अधिकार उल्लंघन गर्ने मुलुकलाई यो परिषदबाट हटाउन सकिन्छ ।

युक्रेनमा रुसले गरिरहेको मानव अधिकार उल्लंघनको लागि उसलाई मानव अधिकार परिषदबाट हटाउनु जरुरी भएको ग्रिनफिल्डले बताएकी छिन् । यक्रेनले रुसले युक्रेनमा गरेको अपराधको प्रमाण जुटाउन राष्ट्रसंघको सबै संयन्त्रको प्रयोग गर्ने बताएको छ ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले भनेका छन्, ‘रुसलाई मानव अधिकार परिषदमा कुनै स्थान छैन ।’ यसै साता महासभामा रुसलाई मानव अधिकार परिषदबाट हटाउने विषयमा मतदान हुन सक्ने ग्रिनफिल्डले बताएकी छिन् । उनले अहिलेसम्म रुसले युक्रेनमा गरेको आक्रमणको विपक्षमा उभिएका सबै मुलुकलाई यो मतदानमा रुसविरुद्ध उभिन आग्रह गरेकी छिन् ।

फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता अहिलेसम्म महासभाबाट रुसविरुद्ध दुई प्रस्ताव पारित भएका छन्। उक्त दुई प्रस्तावमध्ये १४० मुलुकले पक्षमा मतदान गरेका छन् ।