Breaking

आज राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग


काठमाडौँ — निर्वाचन आयोगले आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दैछ ।

बिहान साढे ११ बजे छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ ।

०७४ को निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो । यसपटक ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । तर, आचारसंहिता भने लागू भइसकेको छैन ।

उम्मेदवार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्ध रिट परेको छ । यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । यद्यपि, सुझावका आधारमा प्रतिबद्धता पत्र तयार गरी सबै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।