काठमाडौँ — नेपालले घरेलु मैदानमा भएको टी–२० क्रिकेटको उपाधि रक्षा गर्न सफल भएको छ । एक दिवशीय क्रिकेटको उपाधि पीएनजीलाई सुम्पिदा टी–२० मा भने उपाधि घरमा नै राख्न सफल भयो ।
तीन देश सम्मिलित त्रिदेशीय सिरिजमा नेपालका तर्फबाट केही सकारात्मक पक्षहरु देख्न पाईयो । सधै व्याटिङमा कमजोर देखिने नेपाल यो सिरिजमा भने सुधारिएको व्याटिङ हेर्ने मौका मिल्यो । यस सिरिजमा नेपालले दुई खेलमा दुई सय रनको आँकडा पार गर्याे । सिरिजको चौथो म्याचमा नेपालले पीएनजीविरुद्ध २०३ रन बनाएको थियो भने मलेसियासँगको छैठौं म्याचमा २२३ रन जोड्न सफल भएको थियो । कप्तान सन्दीप लामिछानेले आफ्नै घरेलु मैदानमा भएको सिरिजमा दर्शकलाई निराश हुन दिएनन् । आफ्नो कप्तानीमा नेपाललाई पहिलो उपाधि दिलाउन सफल भएका लामिछानेका लागि पनि यो सिरिज ऐतिहासिक बन्न पुग्यो । सिरिजमा ११ विकेट लिँदै सर्वाधिक दोस्रो विकेट लिन खेलाडी पनि बनेका छन् ।
यो सिरिज नेपालका साथै दीपेन्द्रसिंह ऐरीका लागि पनि खास बन्यो । दीपेन्द्रले टी–२० मा आफ्नो पहिलो शतक प्रहार गर्दा नेपालका लागि सो फम्र्याटमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बन्न पुगे । उनले मलेसियाविरुद्धको खेलमा अभिजित ११० रन प्रहार गरे । साथै उनी सिरिजकै सर्वाधिक रन बनाउने खेलाडी पनि चुनिए । उनले ५ इनिङ्समा २५५ रन आफ्नो व्यक्तिगत खातामा जोडे ।
दीपेन्द्र टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालका तर्फबाट सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् । उनले ३९ इनिङ्समा एक शतक र चार अर्धशतकसहित एक हजार रनको कोशेढुंगा पार गर्न सफल भए । योसँगै टी–२० अन्तर्राष्ट्रिय खेलमा उनको १०३३ रन पुगेको छ ।
करण केसी यो सिरिजमा पनि सधैं झै नेपालका लागि नायक बने । भरपर्दा अलराउण्डर केसीले पीएनजीविरुद्धको खेलमा तीन विकेट लिँदै नेपालको जित सुनिश्चत गरेका थिए । उनले अन्तिम ओभरमा ह्याट्रिक गरेका थिए । केसीले आफ्नो हालसम्मकै बलिङ वेस्ट फिगर यसै सिरिजमा फाले । उनले पीएनजीविरुद्धकै खेलमा ३.४ ओभर गर्दै २१ रन दिएर ५ विकेट लिन सफल भए । उनी सिरिजकै सर्वाधिक विकेट लिने खेलाडी बने । उनले ५ इनिङ्स् खेल्दै १३ विकेट लिए । त्यस्तै केसी २२८.५७ स्ट्राइक रेटसहित सिरिजको हाइएस्ट स्ट्राइक रेट हुने खेलाडी पनि बनेका छन् । त्यस्तै कुशल भुर्तेल सर्वाधिक क्याच लिने खेलाडी बन्न पुगे । उनले ७ क्याच गरेका थिए ।
यही सिरिजमा दुई खेलाडीले राष्ट्रिय टिममा डेब्यु गर्ने मौका पाए । सिरिजको तेस्रो खेल मलेसियाविरुद्धमा विकेटकिपर व्याट्सम्यान दीलिप नाथले डेब्यु गरे । तर, उनका लागि यो सिरिज डेब्यु गर्न बाहेक खासै उपलब्धि भने हुन सकेन । त्यस्तै मोहम्मद आदिल अलामका लागि भने डेब्यु खेल सम्झन लायक नै बन्यो । उनले चाहिएकै समयमा आएर विस्फोटक व्याटिङ गरेका थिए ।
प्रतिक्रिया