Breaking

१४ घण्टासम्म लोडसेडिङ भएपछि व्यवसाय नै धरापमा, हजारौं कर्मचारीको व्यवस्थापनमा समेत सकस


काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगहरुमा अघोषित रुपमा लोडसेडिङ गरेको भन्दै उद्योगी व्यवसायीले आपत्ति जनाएका छन् । इटहरी र विराटनगरमा सञ्चालित अधिकांश उद्योगमा विगत एक हप्तादेखि १४ घण्टासम्म लोडसेडिङ हुँदै आएको भन्दै उद्योगीहरुले आफूहरु समस्यामा परेको गुनासो गरेका हुन् । नेपालमा केही समय अघिदेखि पुनः लोडसेडिङ हुन थालको चर्चा थियो । लगत्तै प्राधिकरणले एक साता अगाडि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत मंगलबारबाट नियमित रुपमा उद्योगहरुमा चाहेको जति विद्युत उपलब्ध गराएर लोडसेडिङ हुन नदिने प्रतिवद्धता जनाएको थियो । तर व्यवहारमा कार्यान्वयन नभएको उद्योगीहरुको गुनासो रहेको छ ।

प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताएता पनि एक साता देखि वेलुका ६ बजे देखि १४ घण्टा उद्योगीले विद्युत कटौतीको सामना गरिरहेका छन् । उद्योगीहरुले प्राधिकरणले कुनै जानकारी नदिइ अघोषित रुपमा लोडसेडिङ गरेको कारण उद्योगहरू थप समस्यामा परेको गुनासो गरेका छन् । त्यस्तै, प्राधिकरणले कुनै जानकारी विना एक हप्तादेखि वेलुका ६ बजेपछि १४ घण्टा उद्योगमा लोडसेडिङ हुने गरेको गुनासो गरे । उद्योगमा लामो समय देखि विद्युत आपूर्तिमा पटक–पटक न्यन पावर ट्रिपिङ तथा विद्युतको भोल्टजका कारण उत्पादनमा समस्या आउने गरेको भन्दै उद्योगीले १४ घण्टा लोसेडिङ हुँदा उद्योग सञ्चालनमा थप समस्या पैदा भएको गुनासो गरे ।

सम्बन्धित निकायमा लोडसेडिङ तथा न्यून पावर भोल्टेजको समस्या राख्दा अहिलेसम्म पनि सुनुवाई नभएको उल्लेख गरे । विजुली कटौति भएसँगै उद्योगीलाई ४ हजार कर्मचारीको व्यवस्थापन गर्न सकस भएको छ । त्यस्तै, उद्योगी व्यवसायीले बैंकको व्याज, ढुवानीको लागत बढ्दै गएको अवस्थामा प्राधिकरणले उद्योगहरुमा १४ घण्टासम्म लोडसेडिङ गर्नु न्यायोचित नहुने गुनासो गर्छन् । यतिमात्रै होइन १४ घण्टासम्म लोडसेडिङ हुने हो भने उद्योग नै बन्द गर्नू पर्ने अवस्था आउने हो कि भन्ने चिन्ता उनीहरुमा रहेको छ । अहिले देशैभरका उद्योगीहरुले उद्योगमा पूर्व जानकारी विना १४ घण्टा लोडसेडिङ भएको भन्दै विरोध जनाइ रहेका छन । जसमा नीजि निवासमा लोडेसिडङ गराएर भएपनि उद्योगलाई विजुली दिईनुपर्ने उर्जाविद् तर्क गर्छन् ।

उद्योगीहरुले ठूला उद्योगलाई नियमित बिजुली उपलब्ध गराउन नसके प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने माग समेत गरि सकेका छन । तर प्राधिकरणले कुनै पनि प्रतिक्रिया दिएको छैन । रुस–युक्रेन युद्धको कारण भारत र नेपालको ऊर्जा क्षेत्रमा समस्या देखिइरहेको छ । अहिले नेपालले महँगो मूल्यमा पनि भारतबाट बिजुली आयात गर्न सकेको छैन ।
करिब साढे ३ सय मेगावाट बिजुली अभाव हुन थालेपछि प्राधिकरणले ठूला उद्योगहरूमा रातिमा बिजुली काट्न थालेको छ । पछिल्लो एक सातायता प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गर्न थालेपछि उद्योगीहरुले प्राधिरकणको चर्को आलोचना गरिरहेका छन् ।

विद्युतमा देखिएको ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, एकाएक विद्युत् आपूर्ति बन्द हुँदा करोडौं रुपैयाँ पर्ने मेसिनमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार र कर्मचारीको तलब, ज्याला बढ्नेलगायतका समस्या देखिएको उद्योगीहरुको गुनासो रहेको छ । विद्युत् आपूर्ति नियमित हुन नसक्दा सुनसरी–मोरङलगायत औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या आएको छ ।