राजनीति

बारको मतदान सम्पन्न


काठमाडौँ – नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनअन्तर्गत आज बिहानदेखि सुरु भएको मतदान सम्पन्न भएको छ ।

बारका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार उपत्यकाको काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ । काठमाडौं केन्द्रमा ७१ प्रतिशतको हाराहारीमा मत खसेको छ ।

आज बिहान ८ः०० बजेदेखि सुरु भएको मतदान अपराह्न ४ः०० सम्मका लागि तोकिएको थियो । सबै मतपत्र आइपुगेपछि मात्र मतगणना प्रारम्भ हुनेछ ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् ।

नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।

उक्त समूहमध्ये प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् ।

बारमा अध्यक्षका लागि व्यक्तिगत रूपमा र समूहगत रूपमा गरी आठजनाको उमेदवारी परेको छ ।

काठमाडौं केन्द्रका लागि सर्वोच्च अदालत परिसरमा चार बुथको व्यवस्था गरिएको थियो । काठमाडौं केन्द्रमा उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, ओखलढुंगा र सोलुखुम्बुका मतदाताले मतदान गरेका हुन् ।