राजनीति

जनता प्रगतिशील पार्टी भन्छ–गठबन्धन संस्कृतिको भण्डाफोर गरौं


हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, नेपालले स्थानीय तह निर्वाचनमा दलीय गठबन्धनलाई तोडेर अघि बढन आम मतदातालाई आह्वान गरेको छ ।

सत्तारुढ दलहरुले गठबन्धन गरेर स्थानीय तह निर्वाचन लड्ने तयारी गरिरहेका बेला सो पार्टीले भने यस्तो आह्वान गरेको हो ।

शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकमा सहभागी हुनु भएका नेता डा.शिवजी यादवले दलहरुलाई रोजेर जनताले मत दिने अधिकारलाई कटौति गर्ने भएकाले पनि आफ्नो पार्टीले गठबन्धन तोडेर निर्वाचनमा जानुपर्ने अडान लिएको स्पष्ट पार्नु भयो ।

त्यस अवसरमा उहाँले आफ्नो पार्टीले आम जनता र खासगरी किसानको माग सम्बोधन गर्न लागि परेको भन्दै मतदान गर्न पनि सबै मतदातालाई आग्रह गर्नु भयो । नेता यादवले भन्नु भयो, ‘निर्वाचनमा जाँदा गठबन्धन गरेर जान हुन्न । त्यहाँ चाँही दलहरु आ–आफ्नो विचार बोकेर जनतामा जाने हो । जुन विचारलाई जनताले म्यान्डेट दियो, त्यस अनुसार उसले डेलिभरी दिने हो । त्यसको मूल्यांकन आवधिक निर्वाचनमा जनताले गर्छन । दलीय व्यवस्थामा जुन गठबन्धनको संस्कृति छ । त्यो विरोधभाषी क्रियाकलाप हो । त्यो यथाशीघ्र रोक्नु पर्दछ । म मिडियामार्फत् जनतालाई आग्रह गर्न चाहन्छु–दलीय गठबन्धन जुन छ, गठबन्धनको जुन संस्कृति छ । त्यसलाई तोड्नलाई स्वतन्त्र उम्मेदवारलाई बढिभन्दा बढि, जनतालाई डेलिभरी दिने व्यक्तिलाई मत दिएर अगाडि बढाउनुहोस् । जनता र खासगरी किसानको कामलाई सम्बोधन गर्ने हाम्रो पार्टीलाई मत दिएर विजय गराउनुहोस् ।’

जनता प्रगतिशील पार्टी, नेपालले स्थानीय तहको निर्वाचनमा जाँदा स्थानीय तहमा भएको भ्रष्टाचारको भण्डाफोर गरेर जाने पनि जनाएको छ ।