Breaking

माओवादीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको प्रचण्डको भनाई


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको दाबी गर्नुभएको छ । अध्यक्ष दाहालले छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा त सुशासन, विकास र समृद्धिको एउटा मोडल नै स्थापित छ भनेर एउटा संसदीय समितिको रिर्पोटले देखाएको बताउनुभयो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज शनिवार गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो) का अध्यक्ष कृष्णकुमार राईलाई पार्टीमा स्वागत गर्दै उहाँले आफ्नो पार्टीले जित हासिल गरेको स्थानीय तहमा मात्रै राम्रो काम भएको तर अन्य सयौँ स्थानीय तहमा कामै नभएको जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले प्रदेश र सङ्घमा आफ्नो पार्टीको नेतृत्व नहुँदा सधैँ समस्या आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्ति मात्रै एउटा संवैधानिक समितिले कहाँ–कहाँ राम्रो काम भयो भनेर स्थानीय पालिकाहरू हेर्दा पाँचमध्ये तीन वटा त माओवादी केन्द्रले जितेकोमा मात्रै भएको छ भनेर देखायो । अरू सयौँ छन्, त्यहाँ चाहिँ राम्रो काम भएन भन्ने रिर्पोट आयो । ’