विदेश

थप्पड हाने अभिनेता विल स्मिथले दिए एकेडेमीबाट राजिनामा


काठमाडौँ — अस्कर अवार्ड घोषणा चलिरहेकै बेला सञ्चालक क्रिस रकमाथि हात हालेका अभिनेता विल स्मिथले एकेडेमी अफ मोसन पिक्टर अर्ट्स एन्ड साइन्सको सदस्यबाट राजिनामा दिएका छन् ।

अस्करमा अवार्ड किङ रिचार्ड फिल्मका लागि उत्कृष्ट अभिनेता घोषित भएका स्मिथले लामो वक्तव्य जारी गर्दै एकेडेमीबाट राजिनामा दिएका हुन् । आफूले क्रिसको परिवारदेखि विश्वका दर्शकसम्मको मन दुखाएको उल्लेख गर्दै यस्ता हिंसात्मक कार्यमा नउत्रने वाचासमेत उनले गरेका छन् ।

अमेरिकाको लस(एन्जल्सस्थित हलिउडमा गत आइतवार राति आयोजित अस्कर अवार्ड कार्यक्रममा स्मिथले सञ्चालकमाथि थप्पडसमेत मारेका थिए । सञ्चालक क्रिसले स्मिथको श्रीमतीको खौरिएको कपालबारे ठट्टा गरेपछि उक्त घटना भएको थियो । उक्त घटनालाई संसारभरका दर्शकहरुले लाइभ हेरेका थिए। घटनाप्रति स्मिथले यसअघि पनि माफी मागेका थिए ।