Breaking

अभाव र मूल्य बढ्ने त्रास, पेट्रोल पम्पहरुमा लाइन


काठमाडौँ — काठमाडौँमा पेट्रोल पम्पहरुमा सवारीमा तेल भर्नेहरुको चाप बढेको छ । पेट्रोलियम पदार्थको अभाव चर्किने र मूल्य बढ्ने अवस्था देखिएपछि शनिबार बिहानदेखि पेट्रोल पम्पहरुमा सवारीहरुको लामा लाइनहरु लागेको छ ।

काठमाडौँमा धेरैजसो पेट्रोलपम्पमा तेल भर्न बसेका धेरैजसोमा आशंका पेट्रोलियम ढुवानी रोकिएकाले शनिबारबाट तेल नपाइने होकि भन्ने आंशका थियो । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् ।

आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालभित्रका निगमको डिपोबाट पम्पहरुले किन्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको छ । यसका कारण शुक्रबार पम्पहरुले निगमको डिपोबाट तेल ल्याउन पाएनन् ।

शुक्रबार भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा लिटरमा २७ रुपैयाँ घाटा कायम रहेको भन्दै निगमले विज्ञप्ति निकालेका कारण पनि आज–भोलि नै मूल्य बढ्ने आशंकाले तेल हाल्न लाइनमा बस्नेहरु छन् । पम्पमा लाइन लागेको देखेपछि अन्य सवारीहरु इन्धन अभाव हुने डरले जोहोमा लागेका छन् ।