Breaking

नेपाली क्रिकेटमा नयाँ पुस्ताले ल्याएको परिवर्तन, सन्दीपको कप्तानी फ्लप कि हिट


काठमाडौँ – नेपाली क्रिकेटमा युवाहरुले स्थान पाएसँगै केही सकारात्मक संकेतहरु देखिन थालेको छ । अवसर पाउँदा आफूहरु पनि ठूलो मञ्चमा खेल्न सक्षम छौं भन्ने सन्देश खेलाडीहरुले दिएका छन् ।

हाल नेपाली क्रिकेट टोलीमा युवा जमातको बाहुल्यता रहेको छ । टोलीमात्रै नभई नेतृत्व पंक्तिमा नै युवाले सम्हालेको छ । जुुन दीर्घकालीन क्रिकेट विकासका लागि सकारात्मक पक्ष पनि हो ।

राजधानीमा जारी त्रिदेशिय सिरिजको नतीजाले पनि टोलीमा युवाहरुको महत्वलाई दर्साउँ छ । भर्खरै टी –२० विश्वकपबाट बाहिरिएर निराश बनेका क्रिकेट प्रेमीलाई युवाहरुले गरेको पछिल्लो प्रदर्शनले भने केही आशा थपेको छ ।

विवादै विवादकाबीच कप्तान बनेका सन्दीपको यो नतीजालाई सम्मानजक नै मान्न सकिन्छ । हो, युवा टोलीमा पुस्तान्तरण भएको नेपाली क्रिकेट टोलीलाई चुनौतीका साथै नेपाललाई विश्वकप खेलाउने सुनौलो अवसर पनि थियो । जुन सफल हुन सकेन । तर, त्यही भ्रमणमा खेलिएको ५ खेल मध्ये चार खेलमा भने नेपाल जित निकाल्न सफल भएको थियो ।

विश्वकपबाट बाहिरिएपछि सन्दीप लामिछानेको कप्तानीलाई लिएर प्रश्न उठेको थियो । उचाईमा पुगिसकेको नेपाली क्रिकेट खस्कन थालेको चर्चा चलेपछि सन्दीपलाई कप्तान बनाउने निर्णय नै हतार भएको भन्ने गाइगुइ चल्न थालिसकेको थियो । नेपालको हार नै कप्तानीको कारण भन्न भने नमिल्ने जानकार बताउँछन् ।

विश्वकप खेल्ने अवसरबाट सन्दीपको टोली चुक्यो । युवा पुस्ताको काधमा क्रिकेटको अभिभारा आइसकेपछि हार र जित खेलको एक पाटो भए पनि यसलाई खस्केकै भन्न चाही नमिल्ने टमटाको भनाइ छ ।

नेपाली टोलीको १० औं कप्तानीको रुपमा सन्दीप लामिछानेले गत मंसिर २९ गते मात्रै राष्ट्रिय टोली सम्हाल्ने जिम्मेवारी पाएका थिए । लामिछानेको कप्तानीमा खेलेका १७ खेल मध्ये ९ वटामा जित हात पारेको छ । सन्दीपको नेतृत्वमा अहिले नै मूल्यांकन गर्न हतारै होला ।

सबै खेलाडीलाई मिलाएर लैजान उनलाई केही समय पक्कै लाग्छ । नेपाली क्रिकेट अहिलेको डिभिजन ४ देखि एक दिवशीय मान्यता प्राप्त राष्ट्र पनि तत्काल नै भएको भने होइन । पारस खड्काको नेतृत्वमा १० वर्ष मेहनतले यहाँसम्म आईपुुगेको हो । यसलाई स्मरण गर्दै एकले अर्कालाई साथ दिँदै क्रिकेटलाई अगाडी बढाउनुपर्ने आजको आवश्यकता बनेको छ ।