Breaking

गठबन्धनमै बिमेल, एमाले जित्न सक्छ चुनाव


काठमाडौँ – सत्ता गठबन्धनमा आवद्ध पाँच दलबीच आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय भएको छ । तर गठबन्धनभित्रकै दलमा एकले अर्काेलाई मत दिने सम्भावनामाथि आशंका गरिएको छ । विपक्षी एमालेसमेत गठबन्धन दलकै असन्तुष्टिलाई फाइदा बनाएर चुनाव जित्ने नीतिका साथ अघि बढेको छ ।

कांग्रेसभित्र तालमेल र उम्मेदवार छनोटलाई लिएर असन्तुष्टि बढ्ने जोखिम छ । चुनावी तालमेल गरेको गठबन्धनमा भागबण्डाकै विषयले किचलो मच्चिने पक्का छ । यस्तो अवस्थामा गठबन्धनविरुद्ध एक्लै चुनावमा जाने बाध्यकारी अवस्थामा परेको नेकपा एमालेलाई छिद्रछिद्रमा फाइदा पुग्न सक्छ । सामान्य तरिकाले सोच्दा पनि अहिलेको मोटामोटी हिसाव यही हो ।

किनकि एमाले अध्यक्ष केपी शर्मा ओली गठबन्धनबाटै कसरी फाइदा लिएर चुनाव जित्न सकिन्छ ? आन्तरिक रणनीतिबारे गृहकार्य चलाइरहेका छन् । पाँच दलबीच मात्रै तालमेल गर्ने, पालिका तहसम्मै संयन्त्र बनाउने र त्यसले विश्लेषणात्मक प्रतिवेदन बुझाएपछि भागबन्डाबारे छलफल गर्ने गठबन्धनको निर्णय छ ।

एक्लाएक्लै चुनावमा जाँदा अघिल्लो निर्वाचनमा करिब ४० प्रतिशत स्थानीय तह जितेको एमालेलाई हराउन कठिन हुने आकलन गरेपछि पहिलो पार्टीको सम्भावित दाबेदारका रुपमा आफुलाई हेरेको काँग्रेस पनि तालमेल गर्न बाध्य बनेको छ ।

तर गठबन्धनकै दलहरुका बीच रहेको अविश्वासका कारण चुनावी तालमेल कार्यान्वयनमा समस्या पर्ने देखिएको छ । किनकि एकले अर्काे पार्टीलाई मत दिने सम्भावनामाथि पनि आशंका छ । यसकै फाइदा उठाएर विपक्षी एमाले चुनाव जित्ने दाउमा छ ।

एमाले अध्यक्ष ओलीको मुख्य नीति पनि चुनावी तालमेलपछि विच्किएकाहरुलाई माध्यम बनाएर चुनाव जित्ने खालको छ । तर नेताहरु पार्टी र गठबन्धनको निर्णय नमान्ने नेता–कार्यकर्ताहरुलाई पार्टी नै छोडेर जान चुनौती दिइरहेका छन् ।

नेपाली काँग्रेसका नेता–कार्यकर्ता कम्युनिष्ट पार्टीको जस्तो पार्टी अनुशासन र घेराबन्दीभित्र बस्न रुचाउने स्वभावका हुँदैनन् । चित्त नबुझे आफ्नै उम्मेद्वारका विरुद्ध बागी हाल्ने गरेकै कारण विगतमा चुनाव हारिएको निष्कर्ष काँग्रेसले निकाल्दै आएको छ । फलतः लगाम लगाउनसक्ने कुनै आधार नभएका बेला कार्यकर्ताको भोट पार्टीको नियन्त्रणभन्दा बाहिर जान सक्छ ।

पार्टीभन्दा अन्यत्र भोट नहाल्ने कार्यकर्ता भएकै कारण काँग्रेसका लागि फाइदा नै हुनसक्छ । तर कमजोर पार्टीरहेका प्रचण्ड–माधवलाई निर्वाचन जित्नका लागि काँग्रेसको अधिकांश मत नआए हारको स्वाद लिनुपर्ने हुनसक्छ ।

यसैकारण उनीहरु काँग्रेससँगको तालमेलमा अझै विश्वासिलो आधार खोजिरहेका छन् । नत्र एमालेसँग तालमेल गर्ने चेतावनी प्रचण्डले बिहिबारकै गठबन्धन बैठकमा दिएका छन् ।