Breaking

रुसका विदेशमन्त्रीसामु छायाँमा परेका प्रधानमन्त्री देउवा


काठमाडौँ – रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ दुई दिने भ्रमणका शिलशिलमा भारतमा छन् । हिजो देखि जारी उनको भ्रमणमा आज उच्चपदस्थ व्यक्तिहरुसंग भेट गरिरहेका छन् ।

आजैै दिउँसो नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि भारत भ्रमणमा नयाँ दिल्ली पुगेका छन् । तर भारतमा देउवाको भ्रमण रुसका विदेशमन्त्रीको आगमनको छायाँमा परेको छ ।

रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले हैदरावाद हाउसमा आज भारतका विदेशमन्त्री एस जयशंकरसंग भेटवार्ता गरेका छन् । उनले आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि भेटवार्ता गर्नेछन् । चीन भ्रमण सकेर रुसका विदेशमन्त्री सर्गेइ भारत पुगेका हुन् ।

भारतीय कुटनैतिक संयन्त्र रुसी विदेशमन्त्रीको भ्रमणमा केन्द्रीत भइरहेको छ । भारतीय सञ्चार माध्यमहरुले पनि रुसी विदेशमन्त्रीको भ्रमणलाई उच्च प्राथमिकतामा राखेर समाचारहरु सम्प्रेषण गरिरहेका छन् ।

भारतका सर्वाधिक हेरिने आजतक, स्टार न्युज, रिपब्लीक भारत लगायतका टेलिभिजनहरुमा रुसी विदेशमन्त्रीका समाचारहरुले स्पेस पाएका छन् । युक्रेन र रुसको जारी युद्धका कारण पनि रुसी विदेशमन्त्रीको भारत भ्रमणले बढि प्राथमिकता पाएको हो । भारत भ्रमण अगाडि रुसी विदेश मन्त्री लाभरोभ उत्तरी छिमेकी चीनको भ्रमणमा थिए ।

यता नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि तीन दिने भ्रमणका शिलशिलामा भारत पुगेका छन् । उनलाई विमानस्थलमा भारतीय रक्षा राज्यमन्त्रीले स्वागत गरेका थिए । उनको आज उच्चस्तरीय भेटघाट हुने छैन । साँझ नेपाली राजदुतावासले आयोजना गर्ने रात्रीकालिन भोजमा सहभागि हुनेछन् ।

नेपालका प्रधानमन्त्रीको भ्रमणलाई भारतीय सञ्चारमाध्यमहरुले समाचारको प्राथमिकतामा राखेको देखिँदैन । आजै राती रुसी विदेशमन्त्री स्वदेश फर्कदै छन् भने नेपालका प्रधानमन्त्री देउवाको उच्चस्तरीय भेटभाट भोली बिहानबाट मात्रै सुरु हुने जनाइएको छ ।